महिला लीग फूटबलमा चन्द्रपुरको तेस्रो जित, चौदण्डीगढी २–१ गोल अन्तरले पराजित
४ फागुन २०७७ काठमाडौं । राष्ट्रिय महिला लीग फूटबलमा चन्द्रपुर नगरपालिकाले तेस्रो जीत हात पारेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा चन्द्रपुरले चौदण्डीगढी नगरपालिकालाई २–१ गोल अन्तरले हराएको हो । चन्द्रपुरको जितमा रजनी थोकर र दिल कुमारी राना मगरले गोल गरे ।
पहिलो हाफको थप गरिएको समयमा रजनीले चन्द्रपुरलाई अग्रता दिलाएकी थिइन् । ६६ औं मिनेटमा दिल कुमारीले अग्रता दोब्बर बनाइन् । त्यसको दुई मिनेट पछिनै मनिता तामाङको गोलबाट चौदण्डीगढी खेलमा फर्किने प्रयास गर्यो । तर सकेन ।
चन्द्रपुर ११ खेलबाट ९ अंकसहित छैटौं स्थानमा छ । प्रतियोगिताकै कमजोर टोली चौदण्डीगढीले अहिलेसम्म अंक जोड्न सकेको छैन ।
लीगमा भोलि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा एपीएफ र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । लीगमा भोलि नै उपाधि छिनोफानो हुने संभावना छ । एपीएफले जीत निकाले एक खेल अघि नै उपाधि जित्नेछ ।
प्रतिक्रिया