महिला लीग फूटबलमा पुलिसविरुद्ध एपीएफको संघर्षपूर्ण जित
३ फागुन २०७७ काठमाडौं । लीग लिडर एपीएफले राष्ट्रिय महिला लीग फूटबलमा नेपाल पुलिस क्लबविरुद्ध संघर्षपूर्ण जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको विभागीय डर्बीमा एपीएफले २–१ गोलले विजयी भयो । एपीएफको जितमा रविना गोलेले एक गोल गर्दा अर्को गोल आत्मघाती उपहार पायो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा आत्मघाती गोलबाट एपीएफले अग्रता लियो । खेलको ६८ औं मिनेटमा पुलिसकी कप्तान घिम कुमारी गुरुङको आत्मघाती गोलबाट एपीएफले अग्रता लियो ।
डिबक्सभित्र बल क्लियर गर्ने क्रममा घिम कुमारीको खुट्टामा लागेर बलले पोष्टको दिशा लियो । त्यसको ७ मिनेटमा अमृता जैशीले डिबक्स बाहिरबाट आकर्षक गोल गर्दै पुलिसलाई खेलमा फर्कायो । जारी लिगमा एपीएफले खाएको यो पहिलो गोल हो ।
७९ औं मिनेटमा सावित्रा भण्डारीको स्थानमा वैकल्पिक खेलाडी रविना मैदान प्रवेश गरिन् । मैदान छिरेको ६ मिनेटमै रविनाले निर्णायक गोल गर्दै एपीएफलाई २–१ को जित दिलाइन् ।
जारी लीगमा अपराजित एपीएफले १० खेलमा ३० अंक जोडेको छ । दोस्रो स्थानको त्रिभुवन आर्मी फूटबल क्लब १० खेलबाट २५ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । होडबाट बाहिरिसकेको पुलिस १० खेलमा १४ अंक जोड्दै चौथो स्थानमा छ ।
लीगमा अहिले वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा भइरहेको छ ।
प्रतिक्रिया