विदेश

म्यानमारमा बख्तरबन्द गाडीसहित सेना उत्रियो सडकमा, इन्टरनेट सेवा ठप्प

हिमालय टिभी
२०७७ फागुन ३ गते ७:३२
म्यानमारमा बख्तरबन्द गाडीसहित सेना उत्रियो सडकमा, इन्टरनेट सेवा ठप्प

३ फागुन २०७७ म्यान्मारं । म्यानमारका सडकमा सेनाका बख्तरबन्द गाडी तैनाथ गरिएका छन् ।

म्यानमारका अधिकांश शहरमा बख्तरबन्द गाडी देखिनुका साथै स्थानीय समय अनुसार मध्य रातिदेखि इन्टरनेट पनि पूर्णरुपमा बन्द गरिएको छ ।

त्यहाँ यसअघि नै फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाल बन्द भइसकेका छन् । यसलाई सैन्य कू को विरोध गरिरहेकाहरू लक्षित कारवाही शुरु हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै यसलाई सरकार विरोधी जारी विरोध प्रदर्शन अन्त्यका लागि र विपक्षीप्रति थप कडा कदमको संकेतको रुपमा समेत हेरिएको छ । म्यानमारमा सैन्य कू विरुद्ध हिजो लगतार ९ औं दिन पनि देशभर प्रदर्शन भएको छ । विरोध प्रदर्शनका क्रममा उत्तरी क्षेत्रमा गोली चलेको बताइएको छ ।

म्यानमारको सबैभन्दा ठूलो सहर यांगुनमा सैन्य अधिकारीहरू सडकमा ओर्लिएको भन्दै म्यानमारस्थित पश्चिमा राष्ट्रका दूतावासहरूले सेनालाई संयम अपनाउन आग्रह गरेका छन् ।

त्यस्तै संयुक्त राष्ट्र संघका एक अधिकारीले म्यानमारका सेनाले जनताविरुद्ध युद्ध घोषणा गरेको आरोप लगाएका छन् । म्यानमारका लागि राष्ट्र संघका विशेष अधिकारी टम एन्ड्रीउजले सेना प्रमुखले हतास मानसिकता देखाएको टिप्पणी गरेका हुन् ।

यही फेब्रुअरी १ तारिखमा सेनाले राष्ट्रपति लगायत सत्तारुढ दलका शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको थियो ।

गत नोभेम्बरमा सम्पन्न निर्वाचनपछि गठित नयाँ संसद् र त्यसपछिका प्रक्रियाप्रति सेनाले असन्तुष्टि जनाउँदै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *