खेलकूद

महिला लीग फूटबलमा चन्द्रपुरविरुद्ध आर्मीको ६–१ गोल अन्तरको जित

हिमालय टिभी
२०७७ फागुन २ गते १६:३७
महिला लीग फूटबलमा चन्द्रपुरविरुद्ध आर्मीको ६–१ गोल अन्तरको जित

२ फागुन २०७७ काठमाडौं । चन्द्रपुर नगरपालिका रौतहटलाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लबले राजधानीमा जारी राष्ट्रिय महिला लीग फूटबलमा उपाधि दाबेदारी कायम राखेको छ ।

एन्फा कम्लेक्स सातदोबाटोमा आज भएको एक मात्र खेलमा चन्द्रपुरलाई ६–१ गोल अन्तरले हराउँदै आर्मीले ३ अंक जोडेको छ । आर्मीलाई सहजै जिताउन रश्मी घिसिङले ४ गोल गरिन् ।

त्यस्तै, विमला चौधरीको नाममा दुई गोल रह्यो । खेलको १० औं मिनेटमा रश्मीले आफ्नो पूर्व क्लबविरुद्ध गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । २१ औं मिनेटमा रश्मीले अग्रता दोब्बर बनाउँदा त्यसको २ मिनेटपछि नै विमलाले डिबक्स बाहिरबाट सहजै गोल गरिन् ।

३ गोलले पछि परेको चन्द्रपुरका लागि पहिलो हाफको अन्तिममा रजनी थोकरले गोल गर्दै टोलीलाई खेलमा फर्काइन् । ५० औं मिनेटमा रश्मीले पेनाल्टीमार्फत् गोल गर्दै ह्याट्रिक पुरा गरिन् ।

त्यसको सात मिनेट पछि विमलाको गोलबाट ५–१ को अग्रता लिएको आर्मीका लागि ६१ औं मिनेटमा रश्मीले व्यक्तिगत चौथो गोल गर्दै टोलीको जित सुनिश्चित गरिन् । जितसँगै आर्मी १० खेलबाट २५ अंक जोडेर तालिकाको दोस्रो स्थानमा कायम छ । २ अंक बढी बनाएको एपीएफ शीर्ष स्थानमा छ ।

चन्द्रपुर भने १० खेलबाट ६ अंकसहित छैटौं स्थानमा छ । लीगमा भोलि दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लब तथा वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिकाबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्