आर्थिक

सहकारी सञ्चालकले ठगे डेढ करोड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २ गते १४:५३
सहकारी सञ्चालकले ठगे डेढ करोड (भिडियो रिपोर्टसहित)

२ फागुन २०७७ गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा रहेको एउटा सहकारीमा डेढ करोड रुपैयाँभन्दा बढी अनियमितता भएको पाइएको छ । रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ५ रानीबासमा रहेको नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अनियमितता भएको हो । ऋण नै नलिएका र ऋण लिएर पनि तिरेका व्यक्तिले रकम दिन बाँकी रहेको देखाएर सञ्चालकले रकम हिनामिना गरेको भेटिएको छ ।

गुल्मीको रानीबासमा २१ वर्षअघि स्थापित नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा १८ सय ४६ जना सेयर सदस्य छन् । सदस्यले जम्मा गरेको रकम र उनीहरुले ऋण लिएको रकमको हिसाबकिताब लेखेर राख्ने गरिएको थियो । तर अहिले सहकारीले हिसाबकिताब कम्युटर प्रणालीबाट गर्न थाल्यो । त्यसका लागि ५६ सालदेखिकै हिसाब किताब कम्युटरमा चढाउँदा १ करोड ५६ लाख रुपैया हिनामिना भएको पाइएको छ ।

आफुले खाइ नखाई जम्मा गरेको रकम अनियमितता भएको थाहा पाएर बचतकर्ता चिन्तित छन् । उनीहरुलाई आफूले गाँस काटेर जम्मा गरेको रकम डुब्ने हो की भन्ने चिन्ता छ । अझ आफूले लिँदै नलिएको र तिरिसकेको ऋण पनि संस्थामा तिर्न बाँकी रहेको देखिएपछि बचतकर्ता आत्तिएका छन् ।

स्थापनाकालदेखि अहिलेसम्म व्यवस्थापक रहेका द्रोणाचार्य ज्ञवालीले कमजोर व्यवस्थापनको फाइदा उठाउँदै रकम हिनामिना गरेको आरोप लागेको छ । अहिले आचार्यलाई व्यवस्थापकबाट हटाइएको छ । तर हिनामिना भएको रकम कसरी फिर्ता ल्याउने भन्ने चिन्ता छ । संस्थाले रकम हिनामिनाको उजुरी जिल्ला प्रशासन कार्यालयमा समेत दर्ता गरेको छ ।

अहिले पनि ग्रामीण क्षेत्रका धेरै सहकारी झोलाबाटै सञ्चालित छन् । आफ्नै मान्छे सहकारीको व्यवस्थापक र सञ्चालक छन् भनेर सदस्यले संस्थाको गतिविधिमा चासो पनि राख्दैनन् । जसको फाइदा व्यवस्थापकले लिइराखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *