मृत्युको मुखमा पुगेकी सुत्केरीले नयाँ जीवन पाइन्
२ फागुन २०७७ म्याग्दी । माघ २९ गते बिहीबार राति ९ः२९ मा सुत्केरी भएकी म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङकी मनकुमारी विजश्वकर्माको समयमै साल निस्किएन ।
चिकित्सकका अनुसार सामान्यतया बच्चा जन्मिएको १० देखि ३० मिनेटभित्र निस्कनुपर्छ । साल अड्किनुका साथै उनलाई रत्तस्राव पनि भइरहेको थियो । अड्किएको साल र रक्तस्रावले मनकुमारी विक्षिप्त हुनुहुन्थ्यो ।
पच्चीस वर्षीया विक सुत्केरी भएको मल्कवाङ स्वास्थ्यचौकीबाट राति १ः०० बजे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साललाई समस्याको जानकारी भयो । लम्सालले तत्कालै मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सक प्रशान्तसागर यादवलाई फोन गरेर मल्कवाङ जान आग्रह गर्नुभयो ।
चिकित्सक र स्वास्थ्यकर्मी तयार भए तर राति भएकाले सवारी साधन पाएनन् । केन्द्रमा सवारी साधनको सुविधा छैन । धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले मालिकाका उपाध्यक्ष खरमाया बिटालुसँग समन्वय गरेर तत्कालै गाडीको व्यवस्थापन गरिदिनुभयो ।
बीच बाटोमा पर्ने मराङमा मर्मत भइरहेको सडक अवरुद्ध थियो । अध्यक्ष पुनले राति नै मराङका वडाध्यक्ष राजाराम सुवेदी र स्थानीय युवा ईश्वर सुवेदीलाई फोन गरेर राति नै सडक अवरोध हटाउन लगाउनुभयो । मल्कवाङ स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले १०ः०० बजे नै सिफारिस गरे पनि मनकुमारीका श्रीमान् र परिवारका सदस्यले सामान्यरूपमा लिएर धामी झाँक्री गर्नतर्फ लागेका थिए । स्वास्थ्यचौकीका प्रमुख लेखनाथ गौतम र स्वास्थ्यकर्मी जगदेवी छन्त्यालले सम्झाइबुझाई गरेपछि उनीहरु मनकुमारीलाई दरवाङ लैजान तयार भए ।
मनकुमारीलाई मल्कवाङबाट मराङ स्वास्थ्यचौकीमा ल्याउने र चिकित्सक पनि दरवाङबाट मराङ पुग्ने योजना बनाएर दुवै टोली गाडीमा हुइँकिए । बिहान साढे ४ बजे मराङ स्वास्थ्यचौकीमा मनकुमारी र दरवाङबाट गएको स्वास्थ्यकर्मीको टोलीको भेट भयो । “बाटोमा जहाँ भेट हुन्छ त्यहीँ उपचार गर्ने योजनासहित औजार, उपकरण तयार पारेर हिँडेका थियौँ । हामीले भेट्दा उहाँको अवस्था ठिक थिएन”, चिकित्सक यादवले भन्नुभयो, “बिहान ५.२७ मा अड्किएको साल निकालेर औषधि दिएपछि उहाँको स्वास्थ्यमा सुधार आयो ।”
यादवको साथमा अनमी भीमा पुन, दीपा परियार र कार्यालय सहयोगी सम्मप्रसाद सुवेदीको टोली मनकुमारीको उपचारमा खटिनुभएको थियो । शुक्रबार बिहान ७ः०० बजे मनकुमारीलाई दरवाङ ल्याइएको थियो । स्वास्थ्यमा सुधार आएपछि शुक्रबार साँझ नै सिफारिस गरिएको अहेव यमन नेपालीले बताउनुभयो ।
आमा र बच्चाको अवस्था खतरामुक्त र सामान्य छ । मनकुमारीले नयाँ जीवन पाएको प्रतिक्रिया दिनुभएको छ । “आठ घण्टासम्म छटपटी र पीडा भयो”, उहाँले भन्नुभयो, “मैले नयाँ जीवन पाएको महसुस गरेकी छु ।” बिहीबार उहाँले जन्माउनुभएका बच्चा पाँचौँ सन्तान हुन् । यसअघि उहाँले जन्माएका चारमध्ये दुई मात्र जीवित छन् । गत वर्ष प्रसूति केन्द्र स्थापना भए पनि त्यहाँ प्रसूति गराउने तालिमप्राप्त स्वास्थ्यकर्मी नभएका कारण अड्किएको साल निकाल्न नसकिएको हो । गर्भ रहेको नौ महिनामा उहाँले सामान्य हिसाबले नै बच्चा जन्माउनुभएको थियो ।
साल ननिस्कने समस्यालाई चिकित्सक भाषामा रिटेण्ड पेलेसेन्ट र रक्तस्रवलाई पोष्ट पार्टयुम होमोरेन्ज भनिन्छ । अड्किएको सालले पाठेघरमा इन्फेक्सन गर्ने, रगत जम्ने, सास फेर्न गाह्रो हुने र अन्तमा ज्यानै जानसक्ने खतरा हुन्छ । जुन खतरापूर्ण अवस्थालाई मनकुमारीले जितेर नयाँ जीवन पाउनुभएको हो ।
मल्कवाङ स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई प्रसूति तालिमको व्यवस्थाका साथै मातृशिशु स्वास्थ्यका विषयमा सचेतनामूलक कार्यक्रम चलाउने गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो ।
प्रतिक्रिया