राजनीति

प्रधानमन्त्री ओलीले दिए अदालत र निर्वाचन आयोगमाथि फेरि दिए यस्तो दबाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १ गते २१:०६
प्रधानमन्त्री ओलीले दिए अदालत र निर्वाचन आयोगमाथि फेरि दिए यस्तो दबाव (भिडियो रिपोर्टसहित)

१ फागुन २०७७ बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन संविधानसम्मत भएको भन्दै अब चुनावको विकल्प नभएको दाबी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अदालत र निर्वाचन आयोगलाई पनि फेरि दबाब दिनुभएको छ ।

बुटवलमा आज आयोजित सभामा उहाँले संविधानका विभिन्न धारा नै उल्लेख गरेर संसद विघटन गर्ने आफ्नो कदमको बचाउ गर्नुभयो । आफ्नै दलबाट अलोकतान्त्रिक र अनुचित प्रयास भएपछि बहुमतको प्रधानमन्त्रीका हैसियतमा संसद विघटन गरेको उहाँले दाबी गर्नुभयो ।

अदालतलाई दबाब दिने काम भइरहेको भन्दै प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना भए मुलुक अस्थिरतातर्फ जाने भनेर आफुले पनि दबाब नै दिनुभयो । मुलुक अराजकता र अस्थिरतातर्फ जाने यस्तो निर्णय अदालतले नगर्ने उहाँको भनाइ छ । संसद व्युँतिए कुनै पनि दलको बहुमत नहुने र सांसद किनबेच शुरु हुने भन्दै चुनावको विकल्प नभएको ओलीले दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पार्टीको आधिकारिकताका विषयमा पनि निर्वाचन आयोगलाई दबाब दिने प्रयास गर्नुभयो । आफूले एक पटक पनि सुर्य चिन्हबाट चुनाव नलडेको भन्दै उहाँले आधिकारिकता टुङ्गो लागिसकेको दाबी पनि गर्नुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले अधिकांश समय आफ्नै र सरकारको बखान गरेर बिताउनुभएको थियो । शुरुवातमा काम गर्न नपाएपछि संसद विघटन गरेको बताएका ओलीले पछि भने सरकारले तिव्र गतिमा विकास गरेको दाबी गर्नुभयो । आफ्ना काम देखेरै पार्टीभित्रैबाटै हटाउन लागिएको उहाँको जिकिर छ ।

प्रचण्ड–नेपाल समूहप्रति खनिएका प्रधानमन्त्री ओलीले विभिन्न उदाहरण दिएर हमला गर्नुभयो । प्रचण्डले क्रान्तिको सपना देखाएर १० वर्षसम्म जनतालाई झुक्काएको तर अब त्यो संभव नभएको उहाँको टिप्पणी छ ।

ओली समूहले बुटवलमा आज शक्ति प्रदर्शन गरेको हो । सिद्धेश्वर माविको मैदानमा भएको सभामा अर्थमन्त्री विष्णु पौडेल, मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायतले पनि सम्वोधन गर्नुभएको छ । सभा हुनुभन्दा अगाडि बुटवलका विभिन्न स्थानबाट जुलुस निकालिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्