महिला लीग फूटबलमा पुलिससँग चन्द्रपुर नगरपालिका ३–० ले पराजित
३० माघ २०७७ काठमाडौं । नेपाल पुलिस क्लबले राजधानीमा जारी राष्ट्रिय महिला लीग फूटबलमा चौंथो जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको एक मात्र खेलमा पुलिसले चन्द्रपुर नगरपालिकालाई ३–० गोल अन्तरले हरायो । पुलिसको जितमा सिर्जना खड्का, निर्मला विक र रेखा पौडेलले गोल गरे ।
सातौं मिनेटमै सिर्जनाले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् । ५४ औं मिनेटमा निर्मलाको गोलबाट पुलिसले अग्रता दोब्बर बनायो ।
खेल सकिन ५ मिनेट बाँकी छँदा रेखाले गोल गरेपछि पुलिस ३–० ले विजयी भयो । जीतसँगै पुलिसको ९ खेलबाट १४ अंक भएको छ । वालिङ नगरपालिकासँग अंक बराबरी भएपनि गोल अन्तरका आधारमा पुलिस चौंथो स्थानमा छ ।
पराजित चन्द्रपुर भने ६ अंकका साथ छैटौं स्थानमा छ । लीगमा भोलि वालिङ र एपीएफ तथा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया