खेलकूद

महिला लीग फूटबलमा चन्द्रपुर नगरपालिकाविरुद्ध एपीएफ ८–० गोल अन्तरले विजयी

हिमालय टिभी
२०७७ माघ २८ गते १७:२१
महिला लीग फूटबलमा चन्द्रपुर नगरपालिकाविरुद्ध एपीएफ ८–० गोल अन्तरले विजयी

२८ माघ २०७७ काठमाडौं । साविक विजेता एपीएफ क्लबले राजधानीमा जारी राष्ट्रिय महिला लीग फूटबलमा अपराजित यात्रा जारी राखेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको एक मात्र खेलमा एपीएफले चन्द्रपुर नगरपालिका रौतहटलाई ८–० गोलको फराकिलो अन्तरले हराएको हो । एपीएफको जितमा सावित्रा भण्डारी दोहोरो ह्याट्रिक गरिन् भने अनिता बस्नेतले दुई गोल थपिन् ।

खेल शुरु भएको १८ सेकेण्डमै सावित्राको पासमा कप्तान अनिताले एपीएफलाई अग्रता दिलाइन् । उनले दोस्रो हाफमा थप एक गोल गरिन् । खेलको पहिलो हाफमा ३ गोल गरेको एपीएफले दोस्रो हाफमा थप ५ गोल गर्‍यो । दोस्रो हाफको दोस्रो मिनेटमै साबित्राले ह्याट्रिक पूरा गरिन् ।

एकतर्फी खेलको ६०, ६२ र ७९ औं मिनेटमा थप तीन गोल गर्दै सावित्राले दोहोरो ह्याट्रिक पनि पूरा गरिन् ।

पहिलो राउण्डमा भएको खेलमा एपीएफले ६–० ले जितेको थियो । जितसँगै अपराजित रहेको एपीएफले उपाधि यात्रालाई बलियो बनाएको छ । ८ खेलबाट २४ अंक जोड्दै तालिकाको शीर्षस्थानमा रहेको एपीएफ दोस्रो स्थानको त्रिभुवन आर्मी फूटबल क्लब भन्दा ५ अंकले अगाडी छ । पराजित चन्द्रपुर ८ खेलबाट ६ अंक जोडेर छैटौ स्थानमा छ ।

लीगमा भोलि हुने पहिलो खेलमा चौदन्डीगढी नगरपालिका उदयरपुर र वालिङ नगरपालिका स्याङ्जा तथा दोस्रो खेलमा त्रिभुवन आर्मी फूटबल क्लब र विराटनगर महानगरपालिका मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्