सरकारले बजेटको आकार किन घटायो ? (भिडियो रिपोर्टसहित)

२७ माघ २०७७ काठमाडौं । अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षा गरेर बजेटको आकार घटाएको छ । कोरोना महामारीले अर्थ व्यवस्थामा प्रभाव पारेको भन्दै अर्थमन्त्रालयले विनियोजित बजेट १ खर्ब ३० अर्ब रूपैयाँले घटाएको हो । सार्वजनिक खर्च व्यवस्थापन र आयोजना कार्यान्वयनमा सामस्या आएपछि आकार घटाउनु परेको मन्त्रालयको तर्क छ ।
आर्थिक वर्ष २०७७–७८ का लागि तत्कालीन अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जेठ १५ गते १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट विनियोजन गर्नु भएको थियो । तर सरकारले अर्धवार्षिक समीक्षमार्फत बजेटको आकार १ खर्ब ३० अर्ब रुपैयाँले घटाएको छ । विश्वलाई नै आक्रान्त बनाउने कोभिड–१९ का कारण अर्थतन्त्र ठप्प भएको र कोरोनाका कारण प्रदेश तथा स्थानीय तहले विनियोजित बजेटसमेत खर्च गर्ने अवस्था नभएपछि विनियोजित बजेट घटाएको सरकारले बताएको छ ।
विगतमा समयमै बजेट खर्च नहुने भएपछि संविधानमै जेठ १५ मै बजेट ल्याउनु पर्ने बाध्यात्मक अवस्था बनाइए पनि सरकारले पछिल्लो तीन वर्षदेखि निरन्तर बजेटको आकार घटाउँदै आएको छ । चर्चाका लागि महत्त्वाकांक्षी बजेट ल्याउने र कार्यान्वयन गर्न नसकेपछि बजेटको आकार घटाउने हुँदै आएको छ ।अर्थमन्त्रालयले यसपटक त्यसका लागि कोभिडलाई कारक देखाएको छ ।
कोरोनाले अर्थतन्त्र समस्यामा परे पनि आगामी दिनमा राजस्व संकलन बढ्दै जाने अर्थमन्त्रालयले जनाएको छ । आर्थिक वर्षको समीक्षामा चालु र पूँजीगत खर्च पछिल्ला दिनमा बढदै गएकाले आर्थिक गतिविधि बढ्दै गएको अर्थमन्त्रालयको दावी छ ।
अर्धवार्षिक समीक्षामा कोभिड–१९ विरूद्धको खोपसमेत लगाउन शुरू भएकाले उद्योग, व्यापारको अवस्था सुधार उन्मुख भएकाले गति आउने अर्थमन्त्रालयको अपेक्षा छ । पछिल्लो सयम आर्थिक क्रियाकलाप सामान्य अवस्थामा फर्किदा राजस्व संकलन सुधार र पूँजीगत खर्च समेत बढ्दै गएकाले कार्यान्वयन सहज भैरहेको पनि अर्थमन्त्रालयको दावी छ ।
प्रतिक्रिया