खेलकूद

महिला लीग फूटबलमा आर्मीसँग वालिङ र पुलिससँग विराटनगर महानगर पराजित

हिमालय टिभी
२०७७ माघ २७ गते १७:३१
महिला लीग फूटबलमा आर्मीसँग वालिङ र पुलिससँग विराटनगर महानगर पराजित

२७ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लीग फूटबलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई २–० गोल अन्तरले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीलाई जिताउन शर्मिला थापा र विमला चौधरीले गोल गरे । खेलको पहिलो मिनेटमै शर्मिलाको गोलबाट अग्रता लिएको आर्मीका लागि दोस्रो गोल ४३ औं मिनेटमा विमलाले गरिन ।

८३ औं मिनेटमा वालिङकी क्यामरुनी डिफेन्डर किओमेग्ने भेनेसा नोइली रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएकी थिइन् ।

तालिकामा दोस्रो स्थानमा रहेको आर्मीको ८ खेलबाट १९ अंक भएको छ । वालिङ ८ खेलबाट ११ अंक जोडेर तेस्रो स्थानमा छ ।

आजै भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले विराटनगर महानगरपालिकालाई ३–० गोल अन्तरले पराजित गरेको छ । पुलिसलाई जिताउन निरु थापाले दुई र निर्मला उपाध्यायले एक गोल गरिन ।

खेलको ४१ औं मिनेटमा निर्मलाले गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाएकी थिइन् ।
निरुले ५७ औं र ५९ औं मिनेटमा गोल गरिन । यो जितसंगै पुलिसले विराटनगरविरुद्ध अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ ।

यसअघिको भेटमा पुलिस विराटनगरसँग १-० ले पराजित भएको थियो । विराटनगरलाई हराएसँगै पुलिस लिगको चौंथो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्