राजनीति

प्रतिक्रान्ति वकालत गरेर प्रधानमन्त्री ओली इतिहासमै कलंकित बनेः प्रचण्ड

हिमालय टिभी
२०७७ माघ २६ गते १८:१७
प्रतिक्रान्ति वकालत गरेर प्रधानमन्त्री ओली इतिहासमै कलंकित बनेः प्रचण्ड

२६ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र विरोधी प्रतिक्रान्तिको वकालत गरेकाले प्रधानमन्त्री केपी ओली इतिहासमै कलंकित बनेको बताउनुभएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको प्रतिक्रान्ति विरुद्ध संविधान, लोकतन्त्र गणतन्त्रको पक्षमा एकजुट हुन पनि आव्हान गर्नुभयो । पार्टी एकीकरणको समयदेखि नै लोकतन्त्र र संविधानविपरीत कार्यशैली देखाउँदै आएका ओलीले अहिले संविधान, लोकतन्त्र र गणतन्त्र विरोधी प्रतिक्रान्तिको बाटोमा हिँडेकाले आफूहरु त्यसविरुद्धको संघर्षमा उत्रेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले संविधान, लोकतन्त्र र गणतन्त्रविरुद्ध गएर प्रधानमन्त्री ओली इतिहासमै कलंकित बन्न पुगेको तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो “ केपीजीले जसरी प्रतिक्रान्तिको वकालत गर्न थाल्नुभयो । उहाँले बाजी हार्नुभयो । उहाँ कलंकित पनि हुनु भयो इतिहासमा र उहाँले जित्ने कुनै ंसंभावना छैन । हामी जहाँ उभियौ, संविधान, लोकतन्त्र र गणतन्त्रको पक्षमा, शान्ति र समृद्धिको पक्षमा हामी उभियौ । त्यसकारण हामीले लडाई जित्यौ । अब उहाँले एकपछि अर्को हार्नुबाहेक अर्को विकल्प छैन । हामी दह्रोेसंग उभिँदा हाम्रो जीत कसैले रोक्नै सक्तैन । हामी बिजयी हुन्छौ । ”

अर्का अध्यक्ष माधव कुमार नेपालले प्रधामन्त्रीको समूहलाई चोइटिएको समूहको संज्ञा दिदै ‘ओली बा समूह’ खोल्न सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीलाई आफूहरुले साधारण सदस्यताबाट समेत बर्खास्त गरिसकेकाले उहाँको नेकपासँग कुनै सम्बन्ध नभएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “चोइटिएको समूह पार्टीको मूल समूह हुन सक्ने कुरा भएन । केपी ओलीलाई अध्यक्षबाट निकालिसकेका छौ । पार्टीको साधरण सदस्यबाट पनि बर्खास्त गरिसकेका छौ । उनको अब नेपाल कम्युनिष्ट पार्टी नेकपासँग कुनै सम्बन्ध रहेको छैन । उनलाई खोल्ने रहर छ भने नेकपा मन परेको छ भने नेकपा ओली गुट भनेर खोले हुन्छ । नेकपा मन परेको छैन भने अर्कै ओलीवादी समूह खोल्यो भने हुन्छ । ओली बा समूह खोल्दिए सबभन्दा राम्रो । ओली बालाई मन पराउनेहरु उतै जान्छन् । जहाँ नेकपा पार्टी छ, जहाँ हामी छौ त्यहाँ सूर्य चिन्ह आउँछ । अरु कसैले खोस्न सक्तैन ।”

उहाँले विभिन्न आन्दोलनले सामन्तवादलाई परास्त गरेपनि पुरानै शैलीमा हिँड्ने बानी कायमै रहेकाले केपी ओलीले संविधान र लोकतन्त्रमाथि प्रतिगमन गरेको भन्दै उहाँले आफुहरुको संघर्ष व्यक्तिभन्दा पनि सामन्तवादी प्रवृत्तिविरुद्धको संघर्ष भएको स्पष्ट पार्नुभयो । उहाँले अहिलेको संघर्षलाई ओली र आफुहरुबीचको निजी लडाइँको रुपमा नलिई ओली प्रवृत्तिविरुद्धको लडाईको रुपमा बुझ्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “ अहिलेको लडाइँ केपी ओली प्रवृत्तिविरुद्धको लडाइँ हो । केपीको नयाँ नयाँ अवतार चाहिएको छैन । केपीको नयाँनयाँ अवतार आयो भने के होला यो देशमा ? थिलोथिलो भएर सकिन्छ । अहिले हामी लागेका छौ केपी ओलीको प्रतिगमनविरुद्धको संघर्षमा । संविधान मिच्ने उनका कदमका विरुद्धमा र संविधान मासेर उनले संवैधानिक शासनलाई जसरी चुनौति दिएका छन्, यसले आजसम्म प्राप्त गरेका उपलब्धिहरु तहसनहस हुने खतरा बढेको छ । त्यसैले ती उपलब्धीहरु जोगाउने कुराको पक्षमा जुधिरहेका छौ । केपी ओली र आफूहरुबीचको निजी लडाइँ नभई यो पार्टीभित्रको लडाइँ मात्रै पनि होइन, नेकपाको अन्तरद्वन्द्व मात्रै पनि होइन । संविधानलाई सम्मान गर्ने र क्षत्विच्छेद पार्ने बीचको लडाई हो ।”

लोकतन्त्र, गणतन्त्र र संविधान कमजोर बनाउने र जोगाउने बीचको संघर्ष भएकाले जसरी पनि आफुहरुले जित्नैपर्ने भन्दै उहाँले लोकतन्त्र र संविधान रक्षाको पक्षमा एकजुट हुन आव्हान गर्नुभयो । शिक्षकले विचार निर्माण र प्रवाहमा निकै ठूलो भूमिका खेल्ने भएकाले संविधान रक्षा गरी प्राप्त उपलब्धि जोगाउने बाटोमा विचार निर्माण गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्