खेलकूद

त्रिकोणात्मक एक दिवसीय शृङ्खलाका लागि नेपाली टोलीले थाल्यो प्रशिक्षण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २५ गते २०:३९
त्रिकोणात्मक एक दिवसीय शृङ्खलाका लागि नेपाली टोलीले थाल्यो प्रशिक्षण (भिडियो रिपोर्टसहित)

२५ माघ २०७७ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिका, ओमान र नेपाल सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृखंलालाई लक्षित गरेर प्रशिक्षण थालेको छ । खुला प्रतिस्पर्धाबाट नियुक्त भएका अस्ट्रेलियन प्रशिक्षक डेभ वाटमोरले प्रारम्भिक २१ खेलाडीलाई समावेश गरेर अभ्यास शुरु गरेका हुन् । र प्रशिक्षणका लागि बोलाइएको प्रारम्भिक टोलीमा नयाँ युवा खेलाडीले पनि अवसर पाएका छन् ।

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा १३ वर्षका अर्जुन कुमालले सबैलाई आश्चर्यमा पारे । गण्डकी प्रदेशका उनले चार म्याच खेल्दा एक अर्धशतकसहित एक सय १७ रन बनाए । १६ वर्ष मुनिको प्रतियोगितामा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणका लागि छनोटकर्ताले उनलाई योग्य देखे र उनी छनौट भए । भारतमा रहेर प्रशिक्षण गर्ने कुमाल नेपाली बुझ्छन् तर बोल्न जान्दैनन् । राष्ट्रिय टिममा पर्दा उनमा हौसला भरिएको छ ।

प्रदेश २ का खेलाडी विवेक यादव पनि उत्कृष्ट रहे । उनले दुईवटा अर्धशतकसहित एक सय ६७ रन बनाए । उनी पनि यो क्याम्पलाई आफ्नो स्तर बढाउने मौकाको रुपमा हेर्छन् ।

राष्ट्रिय टिमको एक पुस्ता रिटायर्ड हुने चरणमा पुग्दा युवा खेलाडीको आगमन हुन थालेको छ । जुन सकरात्मक छ । नवनियुक्त प्रशिक्षक वाट्मोरले पनि युवा खेलाडीलाई मौका दिने संकेत दिएका छन् । रोहीत पौडेल, सन्दिप जोरा, ललित रावंशी, हरि चौहान जस्ता खेलाडीले राष्ट्रिय टिममा आफ्नो योग्यता प्रमाणित गरिसकेका छन् ।

पृथु बास्कोटा यस्ता खेलाडी हुन्, जो लामो समय राष्ट्रिय क्रिकेट टिम मिस गरिरहेका छन् । इन्ज्युरीको मारमा परेका पृथु पनि प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गर्न सफल भए । अझ राम्रो गर्ने विश्वास पृथुलाई पनि छ ।

आगामी मार्चमा नेपालले ओमानमा तीन देश सम्मिलित त्रिकोणात्मक सिरिज खेल्ने तय भइसकेको छ । कोरोना महामारीका करण सेलाएको खेलाडीको लय प्रधानमन्त्री कपले केही सुधारेको थियो । यसै बेला विश्वकप जिताएका प्रशिक्षक डेभ वाट्मोर नेपालको प्रशिक्षकमा नियुक्त भए । र, अहिले उनकै प्रशिक्षणमा नेपाली टिमले राम्रो नतिजा ल्याउने लक्ष्य लिएर प्रशिक्षण गरिरहेको छ ।

पहिलो चरणमा क्याम्पमा बोलाइएका युवा खेलाडीमा सम्भावना भएको भन्दै प्रशिक्षक डेभ वाटमोरले नेपाली टोलीमा जोश जाँगर भएका युवा खेलाडी भएकाले राम्रो नतिजा निकाल्न सक्ने थपे ।

पहिलो चरणको बन्द प्रशिक्षणमा ३२ खेलाडीलाई बोलाइएको छ । तर, अहिले २१ जना मात्र प्रशिक्षणमा छन् । एक साता युवा खेलाडीलाई प्रशिक्षण गराएपछि शरद भेषवाकार, अभिनाश बोहोरा, आरिफ शेख, दीपेन्द्र सिंए ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ल केही दिन पछि जोडिने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्