खेलकूद
महिला लीग फूटबलमा चन्द्रपुरको दोस्रो जित, विराटनगर महानगर १–० ले पराजित
२०७७ माघ २५ गते १५:२६
२५ माघ २०७७ काठमाडौं । विराटनगर महानगरपालिकालाई हराउँदै चन्द्रपुर नगरपालिका रौतहटले राजधानीमा जारी राष्ट्रिय महिला लीग फूटबलमा दोस्रो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको पहिलो खेलमा चन्द्रपुरले विराटनगरलाई १–० गोलले हराउँदै ३ अंक जोडेको हो । चन्द्रपुरको जितमा एक मात्र गोल रजनी थोकरले गरिन् ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो हाफमा चन्द्रपुरले अग्रता लिएको थियो । खेलको ७० औं मिनेटमा सुनिता भोलानको पासमा रजनीले डि बक्सभित्र विराटनगरकी गोलरक्षक कल्पना कार्कीलाई बिट गर्दै सुन्दर गोल गरिन् ।
जितसँगै चन्द्रपुरले ७ खेलबाट ६ अंक जोडेको छ । विराटनगरको भने ७ खेलमा १० अंक छ । दोस्रो खेलमा अहिले नेपाल पुलिस क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा भइरहेको छ।
प्रतिक्रिया