समाज

चिकित्सकको दर्खास्त नपर्दा अस्पताल सञ्चालन अन्योलमा

हिमालय टिभी
२०७७ माघ २५ गते १२:५२
चिकित्सकको दर्खास्त नपर्दा अस्पताल सञ्चालन अन्योलमा

२५ माघ २०७७ दुल्लु । जिल्लाको महाबु गाउँपालिकामा अस्पताल निर्माणका बेला स्थानीयवासीका अनेकौँ सपना थिए । अस्पताल बन्छ, डाक्टर आउँछन् र आफ्नै गाउँठाउँमा राम्रो उपचार पाउने आश थियो महाबुका वासिन्दाको । गाउँपालिकामै १० श्ययाको अस्पताल बन्यो ।

अस्पताल सञ्चालनका लागि गाउँपालिकाले आवश्यक चिकित्सकसहित तीन स्वास्थ्यकर्मीको दर्खास्त आह्वान ग¥यो । बिडम्वना, अन्य दुई पदका लागि दर्खास्त परे पनि डाक्टरका लागि निवेदन परेन । डाक्टरको निवेदन नपरेपछि गाउँपालिकाले अन्य दुई पदका लागि परीक्षासमेत स्थगन गरेको छ ।

चिकित्सकको दर्खास्त नपरेपछि महाबु अस्पताल सञ्चालन अन्योलमा परेको हुँदा स्थानीयवासीको उपचार गराउने सपना अधुरै रहेको छ । ‘‘अस्पताल बनाउँदा हामी जति खुशी भएका थियौँ, डाक्टर नआउने भनेपछि हामी त्यति नै दुःखी भएका छौँ । पैसा नहुँदा टाढा उपचार गर्न जान नसकिने, गाउँमै डाक्टर आएमा उपचार गरौँला भनेका थियौँ तर अझै समय कुर्नु पर्ने हो डाक्टरको मुख हेर्न’’, स्थानीयवासी लवराज विकले भन्नुभयो ।

विक मात्र होइन, सोही गाउँपालिकाका अधिकांश स्थानीय बासिन्दाको सपना अधुरै छ । घरआँगनमै डाक्टर आउलान् र उपचार गरौँला भन्ने चाहना तत्कालका लागि पूरा नहुने भएको छ । ‘‘सरकारले जसरी पनि अस्पतालमा डाक्टर पठाउला भन्ने आशा गरेका छौँ’’, स्थानीयवासी अमृत पाण्डेले भन्नुभयो । दर्खास्त आह्वान गर्दासमेत चिकित्सकको निवदेन नआएपछि महाबुको अस्पताल सञ्चालन अन्योलमा परेको छ ।

महाबु गाउँपालिकाले कोभिड–१९ अस्थायी अस्पताल तथा १० श्यया अस्पताल सञ्चालनका लागि २०७७ कात्तिक १८ गते चिकित्सकसहित तीन पदका लागि दर्खास्त आह्वान गरेको थियो । करार नियुक्ति गर्ने गरी मेडिकल अधिकृत आठौँ तह, स्टाफ नर्स सहायक पाचौँ तह र हेल्थ असिस्टेन्ट सहायक पाँचौँ तहका लागि दर्खास्त आह्वान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले बताउनुभयो । ‘‘अधिकृतका लागि कुनै पनि निवेदन नपरेपछि अन्य पदको समेत छनोट गरिएको छैन’’, अधिकृत मल्लले भन्नुभयो । स्टाफ नर्स र स्वास्थ्य सहायकमा भने केही निवेदन परेका छन् ।

अस्पतालमा आवश्यक सम्पूर्ण संरचना तयारी गरिएको अवस्थामा जनशक्ति अभाव हुँदा अस्पताल सञ्चालन गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले बताउनुभयो । “अस्पतालका लागि चाहिने स्तरीय ल्याब, श्यया, उपकरण, भवनलगायतका सम्पूर्ण संरचना तयारी अवस्थामा छ । “मेडिकल अधिकृतका लागि उचित सेवा सुविधासहित अतिरिक्त भत्ताको व्यवस्था गर्दा समेत दर्खास्त परेन”, अध्यक्ष शाहीले थप्नुभयो, “मेडिकल अधिकृतले पाउनुपर्ने सेवा सुविधा दिन तयार छौँ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *