कैलालीको गौरीगंगा–१० मा भैंसी पालनको लहर, के भन्छन् किसान ? (भिडियो रिपोर्टसहित)
२५ माघ २०७७ कैलाली । कैलालीको गौरीगंगा नगरपालिका १० उदासिपुरका ५३ परिवार भैंसी पालेर आर्थिक रुपमा सवल बन्दै गएका छन् । ३ वटै तहका सरकारले भैंसी प्रवर्द्धन कार्यक्रमका लागि आर्थिक सहयोग गरेपछि किसान यो व्यवसायमा लागेका हुन् । चरनको समस्या नभएका कारण पनि भैंसी पालनमा किसानको आकर्षण बढ्दै गएको छ ।
पहिले परम्परागत तरिकाले भैंसी पाल्दै आएका उदासीपुरका किसान अहिले आधुनिक प्रविधिमा लागेका छन् । रोजगारीको अभावमा वैदेशिक रोजगारीमा गएका युवा पनि फर्किएर अहिले गाउँमै भैंसी पाल्न थालेका छन् ।
गाउँमै दुध विक्रीको व्यवस्था भएपछि भैंसी पालनमा आकर्षण बढेको हो । यसले किसानको आर्थिक स्थितिमा पनि सुधार भएको छ । बजार विस्तार र व्यवसायिकरणमा भने अझै ध्यान दिनुपर्ने किसानको माग छ ।
गौरीगंगा नगरपालिकाले भैंसी पालन व्यवसायको प्रवर्द्धनसँगै गाउँमै रोजगारी दिन अहिलेसम्म विपन्न परिवारलाई ५३ वटा दुधालु भैंसी सहयोग गरेको छ । भैंसी पालनका लागि उपयुक्त ठाउँ भएका कारण उदासीपुरलाई पकेट क्षेत्रका रुपमा विकास गर्ने नगरपालिकाको योजना छ ।
किसानलाई पशुपालनमा व्यवसायिक रुपमा लाग्न वडा कार्यालयले पनि शुरुबाटै सहयोग गरिरहेको छ ।
गौरीगंगा नगरपालिकाले यो कार्यक्रमलाई एउटा वडामा मात्रै सीमित नराखी विस्तार गर्नु आवश्यक देखिएको छ ।
प्रतिक्रिया