समाज

परराष्ट्रमन्त्रीको आश्वासनले नेपाली भूमि डुबान समाधान गर्ला ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २४ गते १६:५५
परराष्ट्रमन्त्रीको आश्वासनले नेपाली भूमि डुबान समाधान गर्ला ? (भिडियो रिपोर्टसहित)

२४ माघ २०७७ काठमाडौं । भारतले सीमावर्ती क्षेत्रमा एकतर्फी रुपमा बनाएका बाँधका कारण हरेक वर्ष नेपाली भूमि डुबानमा पर्दै आएको छ । डुबान बारे सीमा क्षेत्रका बासिन्दाले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

नेताहरुले बारम्बार आश्वासन दिए पनि समस्या भने ज्युँका त्युँ छ । पछिल्लो पटक निरीक्षणका लागि बाँकेको सीमावर्ती क्षेत्रमा पुगेका परराष्ट्रमन्त्रीले डुबानबारे भारतसँग कुरा गर्ने आश्वासन दिनुभएको छ ।

चिल्लो देखिने यो कालोपत्रे नेपाली सीमा नजिकैको भारतीय भूमिको सडकको हो । देख्दा यो सडक हो । तर यसले बाँधको काम गर्छ । भारतले निर्माण गरेका यो सडक जस्तै संरचनाका कारण बर्खाको पानीले निकास पाउँदैन र नेपाली भूमि डुवानमा पर्छ । अनि सीमावर्ती क्षेत्रका बासिन्दाले बर्षेनी यसको मार झेल्नुपर्छ ।

भारतले निर्माण गरेको सडक बाँधका कारण पानीको प्राकृतिक बहाव रोकिएर तराई–मधेशका जिल्ला डुबानमा पर्ने क्रम पछिल्ला वर्ष बढ्दै गएको छ । डुबान प्रभावित क्षेत्रका बासिन्दाले समस्या समाधानका लागि पटक पटक आग्रह गर्दै आएका छन् ।

भारतले सीमावर्ती क्षेत्रमा एकतर्फी रुपमा सडक बाँध निर्माण गर्न शुरु गरेको २० वर्ष भइसक्यो । दुई देशका प्राविधिकको संयुक्त टोलीले देशका २० ठाउँमा भारतले निर्माण गरेको संरचनाका कारण नदीको बहाव रोकिएर नेपाली भूभाग डुबानमा परेको निश्कर्ष निकालेको छ ।

माघको पहिलो साता भारत र नेपालका परराष्ट्र मन्त्रीबीच भएको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा पनि दुई देशका प्राविधिक टोलीले दिएको प्रतिवेदनका आधारमा डुबान र बाढीको समस्याका समाधान गर्ने सहमति भएको थियो । तर काम अघि बढेको छैन । परराष्ट्रमन्त्री ज्ञवालीले भारतसँग कुरा गरेर डुबान समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

भारतले सडक निर्माणका नाममा लामो समयदेखि सीमा क्षेत्रमा बाँध बनाइरहे पनि सरकारले कडाइपूर्वक कुरा राख्न सकेको छैन । हरेक वर्ष प्रतिबद्धता जनाउने तर डुबानको समस्या जस्ताको तस्तै रहने गरेकाले सीमा क्षेत्रका बासिन्दाले सरकारको विश्वास गर्नै छाडेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *