एमसीसीको समर्थन नगरेको नेकपा अध्यक्ष प्रचण्डको प्रष्टिकरण (भिडियो रिपोर्टसहित)
२३ माघ २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीको समर्थन नगरेको प्रष्टिकरण दिनु भएको छ ।
एमसीसीका बारेमा पार्टीले निर्णय गरिनसकेका कारण आफूले आम हड्तालका क्रममा त्यो नारा लगाउनबाट रोकेको उहाँको तर्क छ । आम हड्तालमा नेता कार्यकर्ताले एमसीसीविरुद्ध नारा लगाएपछि प्रचण्डले रोक्नु भएको थियो ।
ललितपुरमा आज भएको पत्रकार भेटमा प्रचण्डले संवैधानिक अंगका पदाधिकारी नियुक्तिको विरोधमा गरिएको आन्दोलनमा अरु नारा घुसेपछि त्यसलाई रोक्न मात्र खोजेको प्रष्टीकरण दिनुभयो ।
आफूले एमसीसीको समर्थन पनि नगरेको र नीति पनि नबदलेको भन्दै प्रचण्डले हालै अमेरिकी राजदूतसँगको भेटमा पनि यसलाई परिमार्जन गर्न सकिने वा नसकिने बारे छलफल गरेको बताउनुभयो । उहाँले संवैधानिक परिषदको निर्णयलाई गुण्डागर्दीको संज्ञा दिनुभयो ।
प्रचण्ड नेपाल–समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले पार्टीभित्रबाट शुरु गरेर सिंगो व्यवस्थामाथि आक्रमण गरिरहेको आरोप लगाउनुभयो । अहिले ओलीसँगको संघर्षलाई आन्तरिक मामिला नठान्न पनि उहाँले अरु दललाई आग्रह गर्नुभयो ।
अध्यक्ष प्रचण्ड र नेपालले सत्तामा बस्ने बाहेक संसद विघटनको विरोध गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया