विदेश

अमेरिकाद्वारा यमन युद्धको समर्थन नगर्ने घोषणा

हिमालय टिभी
२०७७ माघ २३ गते ७:३१
अमेरिकाद्वारा यमन युद्धको समर्थन नगर्ने घोषणा

२३ माघ २०७७ न्युयोर्क । यमनमा हुथी विद्रोहीविरुद्धको युद्ध अभियानमा अमेरिकाले अब समर्थन नगर्ने भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा जारी युद्धमा यसअघि गर्दै आएको सहायताबाट पछि हट्ने घोषणा गरेका हुन् । अमेरिकी विदेश नीतिबारे आफ्नो पहिलो सम्बोधनमा राष्ट्रपति बाइडेनले यमनमा अब युद्ध रोकिनु आवश्यक रहेको बताए ।

यसअघि अमेरिकाले यमनमा साउदी अरेबियाको नेतृत्वको गठबन्धनलाई विद्रोहीविरुद्ध भइरहेका आक्रामक कारबाहीको समर्थन गर्दै आएको थियो । यससँगै त्यहाँ बाइडेन प्रशासनले हातहतियारको विक्री समेत रोक्ने छ ।

राष्ट्रपति जो बाइडेनको उक्त कदमलाई एक महत्त्वपूर्ण कदम भएको भनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले व्याख्या गरेका छन् । द्वन्द्वले मानवीय र रणनीतिक विनाश निम्त्याएको भन्दै त्यसको अन्त्य हुनुपर्नेमा बाइडेनको जोड छ । तर साउदीलाई भने उनीहरूको भूभाग र सार्वभौमिकताको रक्षाका लागि अमेरिकाले गर्दै आएको सहायता भने जारी राख्ने बाइडेनको भनाइ छ ।

विगत ६ वर्षदेखि यमन जारी युद्धका कारण एक लाख भन्दा बढी मानिसको मृत्यु भैसकेको छ । सन् २ हजार १४ मा यमन सरकार र हुथी विद्रोहीबीचको आन्दोलनसँगै यमनमा युद्धको शुरुवात भएको थियो ।

त्यसपछि साउदीको नेतृत्वमा विद्रोहीविरुद्ध अन्य आठ देशले समर्थन जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *