सिंचाइमा झोलुङ्गे पुलको यस्तो उपयोगिता (भिडियो रिपोर्टसहित)
![सिंचाइमा झोलुङ्गे पुलको यस्तो उपयोगिता (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2021/02/jholunge-pul.jpg)
२३ माघ २०७७ धनकुटा । सामान्यतया झोलुङ्गे पुल खोला वा नदी तर्नका लागि प्रयोग गर्ने गरिन्छ । तर धनकुटामा भने सिंचाइको लागि समेत झोलुङ्गेपुल उपयोगी देखिएको छ । कसरी त ?
धनकुटाको शहीदभूमि गाउँपालिका वडा नम्बर १ सफाईटारका बासिन्दा तमोर नदी पारी सागुरीगढी गाउँपालिकाको लेमलेमा खोलाबाट पानी ल्याएर सिचाइ गर्दै आएका छन् । गाउँपारी बगेर खेर गएको पानी गाउँसम्म ल्याउनको लागि चार सय मिटर पक्की कुलो निर्माण गरेर तमोर नदीसम्म ल्याइएको छ ।
अनि त्यो पानीलाई नदी तार्नका लागि पनि तमोरमाथि झोलुङ्गे पुल बनाइएको छ । त्यो पुलले पानीको पाइपलाई थेगेर वारीसम्म ल्याउन मद्दत गरेको छ । नदी पारीको पानी वारी ल्याउन अन्य कुनै विकल्प नभएपछि झोलुङ्गे पुल प्रयोग गरिएको हो । तर यसका लागि उपभोक्ताले झण्डै तीन दशक कुर्नपर्यो ।
आयोजनाबाट २८ वर्ष देखि सफाईटारका ५२ परिवारले पचास हेक्टर जमिन सिंचाइ गर्दै आएका छन् । सिचाईकै कारण स्थानीय बासिन्दाको जीवनस्तरमा निकै सुधार आएको छ । हाल उनीहरु व्यवसायिक कृषि पेशातर्फ आकर्षित भएका छन् । यही आयोजनालाई आधार मान्दै धनकुटाको साप्तीङ्गटारमा समेत तमोर नदी पारीबाट अर्को आयोजना सञ्चालनको तयारी गरिएको छ ।
यो आयोजना सञ्चालनमा आएसँगै प्रसस्त पानीको स्रोत भएका तर उपयोगविहीन पानी नदी वा खोला तारेर बस्ती सम्म पुर्याउनका यस्ता पुल र आयोजना सफलसिद्ध हुने देखिन्छ ।
प्रतिक्रिया