आर्थिक

निर्वाचन आयोगले माग्यो ७ अर्ब ७ करोड ९४ लाख ८० हजार चुनाव खर्च

हिमालय टिभी
२०७७ माघ २१ गते १८:५४

२१ माघ २०७७ काठमाडौं । निर्वाचन आयोगले वैशाख १७ र २७ मा हुने निर्वाचनका लागि सरकारसँग ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ बजेट मागेको छ ।

आयोगको बैठकले सरकारसँग रकम माग्ने निर्णय गरेअनुसार रकम माग गरेर अर्थ मन्त्रालयलाई पत्राचार गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । कोरोना महामारीका कारण खर्च बढ्ने आयोगले बताएको छ ।

आयोगले निर्वाचन सञ्चालन आर्थिक कार्यविधी तयार गर्दा कोरोनाका कारण अपनाउनुपर्ने मापदण्डलाई पनि ख्याल गरिएको जनाएको छ । आयोगले कोरोनाका कारण सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख ७४ हजार प्रस्ताव गरेको छ ।

यस्तै निर्वाचनको काममा आयोग, ७७ वटै जिल्ला निर्वाचन कार्यालय, १६५ निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी न्यूनतम संख्यामा रहने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

विगतका निर्वाचनमा प्रयोग गरी हाल मौज्दातमा रहेका मतपेटिका लगायत विभिन्न उपकरण र सवारी साधन मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएको भन्दै आयोगले नयाँ सामग्री, उपकरण र सवारी साधन खरिदको योजना बजेटमा समावेश नगरिएको स्पष्ट पारेको छ ।

निर्वाचनसँग सम्बन्धित तालिमहरू अनलाइनको माध्यमबाट समेत गर्नेगरी व्यवस्थापन गरिएकोले आसन्न निर्वाचन थप मितव्ययी हुनेगरी आयोगले काम गरिरहेको आयोगको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *