आर्थिक

साना र मझाैला व्यवसायी सडकमा, सरकार र बैंकले हैरान बनाएकाे गुनासाे (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २१ गते ६:१६
साना र मझाैला व्यवसायी सडकमा, सरकार र बैंकले हैरान बनाएकाे गुनासाे (भिडियो रिपोर्टसहित)

२१ माघ २०७७ काठमाडौं । कोरोना महामारीबाट प्रभावित भएका साना र मझौला व्यवसायी सडकमा उत्रिएका छन् । लामो लकडाउनले आफनो व्यवसाय धरापमा परिरहेका बेला सरकारले जरिवाना तिराउने र बैंक तथा वित्तीय संस्थाले किस्ता र व्याज असुलीका लागि ताकेता गरिरहेको भन्दै उनीहरुले आज प्रधानमन्त्रीको सरकारी निवास रहेको बालुवाटारमा प्रदर्शन गरेका छन् ।

करिव १ वर्ष लामो कोरोना महामारी र यो बीचमा भएको लकडाउनले पर्यटन, यातायात, होटल तथा रेष्टुरेन्ट व्यवसायीले बढी मार खेप्नु परेको छ । तर यही मारका बीचमा पनि आफूहरु सरकार र बैंक तथा वित्तीय संस्थाबाट पीडित भएको भन्दै उनीहरु सडकमा उत्रिएका छन् । कोरोना महामारीका कारण व्यवसाय धरापमा परेका बेला सरकारले जवरजस्ती जरिवाना उडाएको, सवारी कर, राजस्व तिर्न ताकेता गरिरहेको उनीहरुको दुखेसो छ ।

सरकारबाट व्यवसाय प्रवर्द्धनका लागि सहयोग हुने अपेक्षा उनीहरुको थियो । तर त्यसको ठिक उल्टो भएपछि सडकमा उत्रनु परेको व्यवसायीको गुनासो छ । सरकारले कहिले कर तिराउने नाममा र बैंक तथा वित्तीय संस्थाले कालोसूची तथा किस्ता तिराउने नाममा दुःख दिइरहेको भन्दै उनीहरुले विरोध गरेका छन् ।

यातायात व्यवसायीले लकडाउनका कारण ग्यारेजमा थन्किएका सवारी साधनको जाँचपासमा २६ सय प्रतिशतसम्म जरिवाना गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । लाखौ मान्छे सडकमा उतारेर सभा गर्दा कोरोना नसर्ने तर पर्यटक भने घुम्न नपाउने अहिलेको अवस्था अन्त्य गर्नुपर्ने पर्यटन व्यवसायीको माग छ । मौद्रिक नीतिमा साना व्यवसायीलाई नसमेटिएकोमा पनि उनीहरु असन्तुष्ट छन् ।

निम्न मध्यम र मध्यम वर्गका व्यवसायीले पुनर्कर्जा र व्यवसाय निरन्तरताका लागि सहुलियत कर्जा दिनुपर्ने, बैंकहरुले मौद्रिक नीति कार्यान्ययन गरी सबैमा समान रुपले लागु गर्नुपर्ने, अनावश्यक सरकारी कर र जरिवाना अन्त्य गर्नुपर्ने लगायतका माग राखेका छन् । मंगलबार र बुधबार शान्तिपूर्ण धर्नाको कार्यक्रम बनाएका साना र मझौला व्यवसायीले माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *