खेलकूद

महिला लीग फूटबलमा चौदण्डीगढीविरुद्ध एपीएफको २२–० गोल अन्तरको जित

हिमालय टिभी
२०७७ माघ १९ गते १७:२८
महिला लीग फूटबलमा चौदण्डीगढीविरुद्ध एपीएफको २२–० गोल अन्तरको जित

१९ माघ २०७७ काठमाडौं । सावित्रा भण्डारीले गरेको १२ गोलको मद्दतमा साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लीग फूटबलमा आज चौदण्डीगढी नगरपालिकामाथि फराकिलो जित दर्ता गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको दोस्रो खेलमा एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२–० को विशाल गोल अन्तरले हरायो । एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन् भने कप्तान अनु लामाले ५ गोल थपिन् ।

यस्तै अनिता बस्नेतले ह्याट्रिक गरिन् । रेनुका नगरकोटी र सरु लिम्बूले एक एक गोल थपे। खेलको पाँचौं मिनेटदेखि गोल गर्न थालेको एपीएफले पहिलो हाफमै १२–० गोलको अग्रता लिएको थियो । काउण्टर अट्याकमा सावित्राले वान भर्सेस वानमा सहजै गोल गर्दै एपीएफलाई अग्रता दिलाइन् । पहिलो हाफमा सावित्राले पाँच, अनुले चार तथा अनिता, सरु र रेनुकाले एकएक गोल गरिन् ।

एक पक्षीय खेलको दोस्रो हाफमा पनि एपीएफले गोलको वर्षा जारी राख्दै थप १० गोल गर्यो । दोस्रो हाफमा सावित्राले ७ गोल, अनिताले २ गोल र अनुले १ गोल गर्दै एपीएफलाई फराकिलो अन्तरले जिताए ।

अपराजित यात्रा कायम राखेको एपीएफ ६ खेलबाट १८ अंक जोड्दै शीर्ष स्थानमा यथावत् छ । चौदण्डीगढीको यो लगातार छैटौं हार हो । सावित्रा लीगमा २४ गोल गर्दै सर्वाधिक गोलकर्ताको अग्रस्थानमा छिन् । उनलाई पछ्याइरहेको चन्द्रपुरकी मिथो रुथको ७ गोल छ ।

यसअघि आजै भएको पहिलो खेलमा विराटनगर महानगरपालिकालाई ७–० गोलको फराकिलो अन्तरले हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा उक्लिएको छ । आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन् ।

त्यस्तै बिमला चौधरीले दुई तथा रश्मी घिसिङ र बिमला बिकले एक एक गोल गरिन् । आर्मीले पहिलो हाफमा ३ र दोस्रो हाफमा ४ गोल गरेको थियो । जितसँगै ५ खेलबाट १० अंक जोडेको आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्