राजनीति

प्रचण्ड–नेपाल समूहको आरोप– ओलीले हिन्दू राज्य र राजतन्त्र ल्याउन खोजे (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १८ गते १९:२२
प्रचण्ड–नेपाल समूहको आरोप– ओलीले हिन्दू राज्य र राजतन्त्र ल्याउन खोजे (भिडियो रिपोर्टसहित)

१८ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा राजनीति गर्न खोजेको भन्दै आपत्ति जनाएको छ । प्रचण्ड–नेपाल समूहले ओलीमाथि हिन्दू राज्य घोषणा गर्ने षडयन्त्रमा लागेको आरोप समेत लगाएको छ । पहिले धर्मको कुरा गरेर धर्मनिरपेक्षता र पछि त्यसको आडमा गणतन्त्र समाप्त गरेर राजतन्त्र ल्याउने खेलमा ओली लागेको प्रचण्ड–नेपाल समूहको गम्भीर आरोप छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते पशुपतिनाथ मन्दिरमा पूजा गर्नुभयो । र, मन्दिरलाई सहयोग गर्ने वचन पनि दिनुभयो । प्रधानमन्त्री पशुपति पुगेको तस्विर सचिवालयबाट सार्वजनिक पनि गरियो । त्यसको पाँच दिनपछि माघ १७ गते चितवन पुगेर राममन्दिर बनाउँछु भनेर घोषणा गर्नुभयो ।

संसद विघटनपछिका प्रधानमन्त्री ओलीका यी दुई गतिविधिलाई निकै अर्थपूर्ण मानिएको छ । ओलीले अब राजनीतिमा धर्मको आड लिन खोजेको र धर्म निरपेक्षतामाथि आक्रमण गर्न खोजेको आशंका भैरहेको छ । किनकी ईश्वरको नाममा शपथ लिन अस्वीकार गर्ने प्रधानमन्त्री पशुपति पुग्नुलाई कतिपयले असहज मानेका छन । प्रचण्ड नेपाल समूहले यी गतिविधिलाई लिएर ओलीमाथि निशाना साँधेको छ । ओली राजनीतिक रुपले सकिएपछि धर्मको आडमा लागेको उसको टिप्पणी छ ।

यतिमात्रै होइन, अब ओलीले हिन्दू राज्य घोषणा गर्न सक्ने प्रचण्ड–नेपाल पक्षको आशंका छ । संसद विघटन गरेर गलत बाटो हिंडेका ओलीले जे पनि गर्न सक्ने यो समूहको दावी छ । पहिले धर्मको कुरा गर्ने अनि राजतन्त्र ब्यूँताउने प्रयास ओलीबाट भैरहेको प्रचण्ड–नेपाल समूहको गम्भीर आशंका र आरोप छ ।

आफ्नो समूहसँग संघर्ष चर्किँदा ओलीलाई राजावादीको साथ रहेको प्रचण्ड–नेपाल समूहको बुझाई छ । अहिले प्रधानमन्त्री ओलीबाट जे भैरहेको छ, त्यसमा दक्षिणपन्थी राजावादीबाहेक कोही खुशी छैनन् र ओली उनीहरुकै वरिपरिबाट चलेको प्रचण्ड–नेपाल समूहले आरोप लगाएको छ ।

प्रचण्डनेपाल समूहले आशंका गरेझैं प्रधानमन्त्रीका पछिल्ला गतिविधिले केही आशंका पक्कै निम्त्याएको छ । त्यसैले यसको जवाफ प्रधानमन्त्रीले पक्कै दिनुहुनेछ । किनकी आरोप लागे जस्तो धर्मको आडमा राजनीतिक शक्ति आर्जन गर्न खोजिएको हो भने त्यो गलत हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्