चन्द्रपुर नगरपालिकालाई ३–१ ले हराउँदै पुलिस क्लब महिला लीगको दोस्रो स्थानमा उक्लियो

१८ माघ २०७७ काठमाडौं । चन्द्रपुर नगरपालिका रौतहटलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब राष्ट्रिय महिला लीग फूटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको एक मात्र खेलमा चन्द्रपुरलाई ३–१ गोलले हराउँदै पुलिसले ३ अंक जोडेको हो । पुलिसलाई जिताउन निर्मला विक, निरु थापा र अनुष्का शेर्पाले गोल गरे ।
२८ औं मिनेटमा पोस्टमा लागेर फर्किएको बललाई निर्मलाले सिक्स यार्ड बक्सबाट गोल गर्दै पुलिसलाई अग्रता दिलाइन् । प्रतिस्पर्धात्मक खेलको ३९ औं मिनेटमा सविता राना मगरको गोलबाट चन्द्रपुर खेलमा फर्कियो । सविताको सामान्य हेडर पुलिसको गोलरक्षक सपना राईले बचाउन सकिनन् ।
पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पुलिसले सम्हालिएको प्रदर्शन गर्यो । ५० औं मिनेटमा निरुले डिबक्सभित्रबाट सहजै गोल गर्दै पुलिसलाई अग्रता दिलाइन् ।
खेलको इन्जुरी समयमा परिवर्तित खेलाडी अनुष्काले गोलकिपर विट भएको अवस्थामा गोल गर्दै पुलिसलाई ३–१ को जित दिलाइन् । जितसँगै ५ खेलबाट २ बराबरी र २ जितका साथ ८ अंक जोड्दै पुलिस दोस्रो स्थानमा उक्लिएको छ ।
५ खेलबाट ३ अंक जोडेको चन्द्रपुर छैटौं स्थानमा छ । लिगमा भोिल विराटनगर महानगरपालिका र त्रिभुवन आर्मी फूटबल क्लब तथा एपीएफ र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया