खेलकूद

त्रिभुवन आर्मी क्लबलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि

हिमालय टिभी
२०७७ माघ १७ गते १७:०६
त्रिभुवन आर्मी क्लबलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि

१७ माघ २०७७ काठमाडौं । त्रिभुवन आर्मी क्लबले चौंथो संस्करणको प्रधानमन्त्री कप पुरुष क्रिकेटको उपाधि जितेको छ ।

फाइनलमा आज एपीएफ क्लबलाई ३३ रनले हराउँदै आर्मीले उपाधि उचालेको हो । टियु क्रिकेट मैदानमा आर्मीले दिएको २ सय १२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपीएफ ४१ ओभर ३ बलमा १ सय ७८ रनमा अलआउट भयो । एपीएफका लागि आसिफ शेखले ६१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार टार्न सकेनन् ।

एपीएफका लागि सन्दीप जोराले २९, शंकर रानाले २१ र सुमित महर्जनले १९ रन बनाए । सुवास खकुरेल १४ रनमा आउट हुँदा कप्तान शरद भेषवाकर शून्यमै पेभिलियन फर्किए । एपीएफलाई सस्तैमा समेटन आर्मीका विक्रम सोव, जितेन्द्र मुखिया र साहव आलमले ३–३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । आर्मीका लागि हरी चौहानले सर्वाधिक ५८ रन बनाए । राजेश पुलामीले २८, शाहब आलम २५ र लोकेश बमले १५ रन बनाए ।

मध्यम सुरुवात गरेका आर्मीका सुशन भारी र रोहित पौडेल समान १३–१३ रन जोड्दा आउट भए । एपीएफका अविनास बोहोराले २ मेडनसहित २५ रन खर्चिएर ४ विकेट लिए । किशोर महतोले २ तथा कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले ११ विकेट लिए ।

समूह चरणमा त्रिभुवन आर्मीलाई एपीएले ६ रनले हराएको थियो । प्रतियोगिताको पहिलो संस्करणमा आर्मी र पुलिस संयुक्त रुपमा च्याम्पियन बनेका थिए ।

दोस्रोमा एपिएफ र तेस्रोमा पुलिसले उपाधि जितेको थियो । उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्