समाज

पश्चिम नेपालका थारु र मधेशी समुदायका बालबालिकामा थालसेमिया रोगको समस्या (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १७ गते १६:४७
पश्चिम नेपालका थारु र मधेशी समुदायका बालबालिकामा थालसेमिया रोगको समस्या (भिडियो रिपोर्टसहित)

१७ माघ २०७७ नेपालगञ्ज । पश्चिम नेपालका आदिवासी थारु र मधेशी समुदायका बालबालिकामा रगतसम्बन्धी आनुवांशिक रोग थालसेमियाको समस्या देखिएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि हरेक हप्ता १२ देखि १५ जना बालबालिका थालसेमियाको उपचारका लागि पुग्ने गरेका छन् ।

बर्दियाको बारबर्दियाका लक्ष्मण थारुले आफ्नी ८ वर्षीया छोरी प्रतिमा थारुलाई तीन वर्षदेखि हरेक महिना रगत चढाउँदै आउनु भएको छ । रगत चढाएको तीन हप्तासम्म प्रतिमाको स्वास्थ्य ठिकै हुन्छ । चार हप्ता पुग्नै लाग्दा समस्या हुने गरेको छ । प्रतिमालाई थालसेमिया रोग लागेको छ ।

त्यसैले रगत चढाउन थालेको ३ वर्ष भइसकेको छ । बर्दियाबाट नेपालगन्जको भेरी अस्पतालमा आएर एक पटक रगत चढाउँदा ३ देखि ४ हजार खर्च लाग्छ । आर्थिक अवस्था कमजोर भएका लक्ष्मणलाई बिरामी छोरीका लागि रगत चढाउन आवश्यक पर्ने रकम जोहो गर्न पनि हम्मेहम्मे पर्न थालेको छ ।

प्रतिमालाई जस्तो थालसेमिया रोग लागेका अरु बिरामी पनि नेपालगन्जस्थित भेरी अस्पतालमा आउने गरेका छन् । शरीरमा राम्रोसँग रक्तकोषको विकास हुन नसक्दा यो रोग हुन्छ । रोग लागेपछि बालबालिकाको उमेर अनुसार उचाई बढ्दैन ।

यस्तै नङ, हत्केला, पैतला ओठ र आँखा सेतो हुँदै जाने, कलेजो, फियो ठूलो हुने, रगतको कमी भई शरीर सेतो देखिन्छ । यस्ता बिरामीलाई अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरेर रगत चढाउने गरिएको छ ।

थालसेमियाका बिरामीको उपचार भनेको आजिवन रगत चढाउनु हो । पूर्ण रुपमा निको पार्न बोनम्यारो ट्रान्सप्लान्ट सबै भन्दा भरपर्दो उपचार मानिन्छ । तर बोनम्यारो ट्रान्सप्लान्ट अत्यन्तै महंगो पर्ने भएकाले सबैले यो उपचार गर्न सक्दैनन् ।

यस्तै अर्को रोग सिकलसेल एनिमियाका बिरामीलाई सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाएको छ । तर थालसेमियाका बिरामी भने आफै उपचार गर्न बाध्य छन् । यदि आमा बुवामा यो रोग लागेको छ भने सन्तानमा पनि हुने जोखिम हुन्छ । रगत परीक्षण गरेर थालसेमिया भए नभएको यकीन गरेर बिहेबारी गर्दा सन्तानलाई यो रोगबाट बचाउन सकिन्छ ।

थालसेमियाका बिरामीमा के कारणले रगतको कमी भएको हो भन्ने यकिन नगरी प्राथमिक स्वास्थ्य केन्द्र तथा गाउँघरमा रहेका स्वास्थ्य संस्थाले रगत बढाउनका लागि आइरन चक्की दिन्छन । तर थालसेमियाका बिरामीले आइरन चक्कीखान नहुने चिकित्सकको सुझाव छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *