तल्लो अरुण जलविद्युत् परियोजना भारतीय कम्पनीलाई दिने सरकारको निर्णय

१७ माघ २०७७ काठमाडौं । सरकारले ६ सय ७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष के पी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ४६ औं बैठकले तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणा अन्तर्गत बुट मोडलमा निर्माण गर्न भारतीय कम्पनी सतलज जलविद्युत निमग लिमिटेडलाई छनौट गरेको हो ।
जस अनुसार यो आयोजना सतलजले निर्माण गरेर सञ्चालन गर्ने छ, र निश्चित समयपछि सरकारलाई हस्तान्तरण गर्ने छ । भारत सरकारको स्वामित्व रहेको सतलजले ९ सय मेगावाट क्षमताको अरुण तेश्रो जलिवद्युत आयोजना पनि निर्माण गरिरहेको छ । त्यसैले उसले तल्लो अरुण पनि आफूले पाउनुपर्ने अडान राख्दै आएको थियो ।
पोहोर भदौमा नेपाल भ्रमणमा आएका भारतीय ऊर्जा राज्यमन्त्री राजकुमार सिंहले भारतले अरुण तेस्रोको ढाँचामा नै तल्लो अरुण निर्माण गर्ने प्रस्ताव गर्नुभएको थियो । तल्लो अरुण जलविद्युत परियोजना संखुवासभा र भोजपुर जिल्लामा बन्ने छ ।
सरकारले भारतीय कम्पनीलाई दिन लागेको तल्लो अरुण आयोजनामा चीनको पनि चासो छ । चिनियाँ कम्पनी पावर चाइना कर्पोरेसनले जलविद्युत लगानी तथा विकास कम्पनी एच आई डी सी एलसँग साझेदारी गरेर यो आयोजना बनाउने प्रस्ताव गरेको थियो ।
यस्तै बैठकले लगानी बोर्डमा विशेषज्ञका रुपमा राजेशकाजी श्रेष्ठ, हरिभक्त शर्मा र भवानी राणा एवं आमन्त्रित सदस्यको रुपमा बालकृष्ण शिवाकोटीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देशन गरेबमोजिम लगानी बोर्डको रणनीतिक योजना, परियोजना बंैक, बेवमा आधारित एकलबिन्दु सेवा र अन्य प्रगतिबारे प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया