कुलेश्वर फलफूल बजारमा विद्युतीय माध्यमबाट भुक्तानी सेवा शुरु
१६ माघ २०७७ काठमाडौं । काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा आजदेखि विद्युतीय माध्यमबाट रकम भुक्तानी सेवा शुरु भएको छ ।
नबिल बैंकले यो फलफूल बजारमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको हो । गर्भनर महाप्रसाद अधिकारीले क्यूआर कोडमार्फत फलफूल खरिद गरी भुक्तानीको शुरुवात गर्नुभयो । क्युआर भुक्तानी सहज, विश्वसनीय, पारदर्शी भएकाले प्रभावकारी हुने गभर्नर अधिकारीले बताउनुभयो ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले एउटा बजारमा मात्रै सीमित नभएर डिजिटल भुक्तानीलाई देशभर विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो । हरेक व्यापारी र पसलमा क्यूआर हुनुपर्ने र हरेक नागरिकले त्यसकै माध्यमबाट भुक्तानी गर्नुपर्नेमा उहाँको जोड छ ।
नेपाल राष्ट्र बैंकले क्यूआर कोडमार्फत हुने भुक्तानी देशभरी नै विस्तार गर्ने लक्ष्य लिएको छ । जसलाई बैंक तथा वित्तीय संस्थाले पनि साथ दिएका छन् ।
त्यसैले विद्युतीय माध्यमबाट हुने भुक्तानी बढ्दै गएको छ । क्यूआर कोडमार्फत गरिने कारोवारले आफूहरुलाई सहज हुने व्यवसायीको पनि अनुभव छ ।
प्रतिक्रिया