खेलकूद

महिला लीग फूटबलमा वालिङ नगरपालिकाको पहिलो जित, पुलिसविरुद्ध एपीएफ विजयी

हिमालय टिभी
२०७७ माघ १५ गते १८:२८
महिला लीग फूटबलमा वालिङ नगरपालिकाको पहिलो जित, पुलिसविरुद्ध एपीएफ विजयी

१५ माघ २०७७ काठमाडौं । विदेशी खेलाडी मिथो रुथको दोहोरो ह्याट्रिकको मद्दतमा वालिङ नगरपालिकाले राष्ट्रिय महिला लीग फूटबलमा पहिलो जित हात पारेको छ ।

यस्तै अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै साबिक विजेता एपीएफ क्लबले अपराजित यात्रा कायम राखेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा स्याङ्जाको वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०–० गोलको फराकिलो अन्तरले हराएको हो ।

वालिङका लागि क्यामरुनी खेलाडी मिथो रुथले दोहोरो ह्याट्रिक गर्दा सम्झना शर्माले दुई गोल तथा मनमाया दमाई र टौटा ओरेनेला नोईलीले एक एक गोल गरे । खेलको पाँचौं मिनेटमै मिथोले पेनाल्टी बक्स नजिकैबाट सहजै गोल गरिन् । त्यसको दुई मिनेट पछिनै मिथोले चौदण्डीगढीको कमजोर डिफेन्सको फाइदा उठाउँदै अग्रता दोब्बर बनाईन् ।

१७ औं मिनेटमा मिथोले प्रहार गरेको कडा प्रहार चौदण्डीगढीका गोल रक्षकले बचाउन सकिनन् । ३१ औं मिनेटमा मनमायाले गोल गर्दै वालिङलाई ४(० को अग्रता दिलाइन् । एकतर्फी खेलको दोस्रो हाफमा वालिङले थप ६ गोल गर्यो ।

दोस्रो हाफको चौथों मिनेटमै टौटाले उत्कृष्ट स्किल देखाउँदा चौदण्डीगढीका पाँच खेलाडीको बीचबाट सुन्दर गोल गरिन् । गोलको वर्षा भएको खेलको ६३ औं मिनेटमा मिथोले वान भर्सेस वानमा सहजै गोल गरिन् ।

७२ औं मिनेटमा व्यक्तिगत पाँचौ गोल गर्दै मिथोले वालिङलाई ७(० को अग्रता दिलाईन् । ७६ औं मिनेटमा गोल गरेकी सम्झनाले त्यसको ३ मिनेट पछिनै दोस्रो गोल गरिन् ।

इन्ज्युरी समयको पहिलो मिनेटमा मिथोले दोहोरो ह्याट्रिक पूरा गर्दै वालिङलाई १०(० को फराकिलो जित दिलाईन् । जारी प्रतियोगितामा यो पहिलो दोहोरो ह्याट्रिक हो । लिगमा भने यो सातौ ह्याट्रिक हो । जितसँगै वालिङले ४ खेलबाट पाँच अंक जोडेको छ ।

आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको दिनको दोस्रो खेलमा एपिएफले पुलिसलाई ३(० गोलले हरायो । एपिएफको जितमा साबित्रा भण्डारीले ह्याट्रिक गरिन् । ३२ औं मिनेटमा पुलिसको कमजोर डिफेन्सको फाइदा उठाउँदै साबित्राले वान भर्से वानमा सहजै गोल गरिन् ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा १ गोलको अग्रता लिएको एपिएफले दोस्रो हाफमा थप दुई गोल गर्यो । ५७ औं मिनेटमा मैदानको मध्य भागबाट एक्लै अगाडी बढाएको बल पासमा साबित्राले पोष्टको दिशा दिए ।

८५ औं मिनेटमा पुलिसका डिफेन्डरले बल क्लियर गर्न नसक्दा सबित्राले डिबक्स भित्र सहजै गोल गरिन् । जितसँगै एपिएफ ४ खेलबाट शतप्रतिशत जितका साथ १२ अंक जोड्दै तालिकाको शीर्षस्थानमा यथावत छ । पराजित भएको पुलिस ५ अंक सहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्