आर्थिक

पाँचतारे होटलका कर्मचारीलाई बन्द रहेको अवधिमा मासिक पाँच हजार दिने सहमति

हिमालय टिभी
२०७७ माघ १४ गते १३:२९
पाँचतारे होटलका कर्मचारीलाई बन्द रहेको अवधिमा मासिक पाँच हजार दिने सहमति

१४ माघ २०७७ काठमाडौं । होटल बन्द रहेको अवस्थामा घरमै बसेका कर्मचारीलाई राहत उपलब्ध गराउने सहमति भएको छ ।

पाँचतारे होटलको हकमा मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउन होटल सञ्चालक र कर्मचारी मजदुर संगठनबीच सामूहिक सहमति भएको हो । तर, होटल सञ्चालन भएको अवस्थामा भने चक्रीय प्रणालीमार्फत आवश्यकताका आधारमा आलोपालो गरी श्रमिक तथा कर्मचारीलाई काममा लगाइनेछ ।

काममा लगाइएका त्यस्ता श्रमिक तथा कर्मचारीले भने खाइपाई आएको पुरै पारिश्रमिक पाउनेछन् । काममा नबोलाइएको अवस्थामा घरै बस्नुपर्ने भएमा भने होटल संचालकले पछिल्लो सहमति अनुसारको रकम दिने भएका छन् ।

यसअघि ६ महिना अगाडी मजदुर र होटल संचालकबीचको सहमतिको अवधि १ जनवरीबाटै सकिएको थियो । त्यसपछि विभिन्न चरणमा बसेका बैठकमा यस्तो सहमति जुटेको होटल संघ नेपाल (हान)ले जनाएको छ ।

आगामी एक वर्षका लागि मान्य हुने गरी भएको यो सहमति पत्रमा संघका तर्फबाट अध्यक्ष सृजना राणाले हस्ताक्षर गर्नुभएको छ । । मजदुरको तर्फबाट नेपाल स्वतन्त्र होटल मजदुर युनियनका अध्यक्ष सूर्यबहादुर कुँवर, अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघका अध्यक्ष माधव पाण्डे र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघका अध्यक्ष खेमराज खड्काले हस्ताक्षर गर्नुभएको छ ।

सहमति अनुसार आगामी एक वर्षभर वा सहमतिको अवधि कायम रहेको अवस्थासम्म तालिममा आएका, करार, दैनिक ज्यालादारी र आउटसोर्सिङका श्रमिकलाई होटलले काममा लगाउन पाउने छैनन् । कामदार आवश्यक हुँनासाथ जगेडामा घरमा बसेका कर्मचारीलाई बोलाउनु पर्ने सहमतिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *