खेलकूद

महिला लीगमा एपीएफको लगातार तेस्रो जित, पुलिस र वालिङ नगरपालिले अंक बाँडे

हिमालय टिभी
२०७७ माघ १३ गते १७:३५
महिला लीगमा एपीएफको लगातार तेस्रो जित, पुलिस र वालिङ नगरपालिले अंक बाँडे

१३ माघ २०७७ काठमाडौं । राष्ट्रिय महिला लिग फूटबलमा साविक विजेता एपीएफ क्लबले लगातार तेस्रो जित हात पारेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले हराएको छ । एपीएफको जितमा अन्जली कुमारी योन्जन र सरु लिम्बूले गोल गरे ।

प्रतिस्पर्धात्मक खेलको २७ औं मिनेटमा अन्जलीले गोल गर्दै एपीएफलाई अग्रता दिलाइन् । पहिलो हाफको इन्जुरी समयमा सरुले एपीएफका लागि दोस्रो गोल गरिन् । दोस्रो हाफमा गोल हुन सकेन र एपीएफ विजयी बन्यो ।

जितसँगै एपीएफ ३ खेलबाट शतप्रतिशत जितका साथ ९ अंक जोडेर तालिकाको शीर्ष स्थानमा कायम छ । एपीएफले पहिलो खेलमा चन्द्रपुर नगरपालिका र दोस्रो खेलमा विराटनगर महानगरपालिकालाई हराएको थियो ।

आजै भएको अर्को खेलमा उपाधि दाबेदार नेपाल पुलिस क्लब स्याङ्जाको वालिङ नगरपालिकासँग १–१ गोलको बराबरीमा रोकिएको छ । एन्फा कम्प्लेक्समा पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।

दोस्रो हाफमा दुबै टोलीले एक एक गोल गरे । विदेशी खेलाडी मिथो रुथले ५३ औं मिनेटमा गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् । ६५ औं मिनेटमा रेखा पौडेलले पुलिसका लागि बराबरी गोल फर्काइन् । ३ खेलबाट ५ अंक जोडेको पुलिस दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्