खेलकूद

प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा

हिमालय टिभी
२०७७ माघ १२ गते १७:४४
प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा

१२ माघ २०७७ काठमाडौं । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा पुगेको छ । योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।

समूह ए बाट एपीएफ र त्रिभुवन आर्मी क्लब तथा समूह बी बाट बागमती प्रदेश र नेपाल पुलिस क्लब अन्तिम चारमा पुगेका छन् । प्रदेश २ लाई हराउँदै पुलिस क्लबले आज सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा ४ विकेटको जित निकाल्दै पुलिस समूह बी को उपविजेता बनेको छ । ४ खेलबाट ६ अंक जोडेको पुलिस दोस्रो स्थानमा उक्लिदा लुम्बिनी प्रदेश भने बाहिरिएको छ । अन्तिम खेलमा जित्नै पर्ने दबाबमा रहेको पुलिसले १ सय ७० रनको लक्ष्य ३८ ओभरमा ६ विकेट गुमाएर भेट्टाएको थियो ।

पुलिसका लागि अनिल साहले नटआउट ४७ र कुशल भुर्तेलले ४३ रन बनाए । प्रदेश २ का विवेक यादव र कुमार थापाले ३(३ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश २ ले ९ विकेट क्षतिमा १ सय ६९ रन बनाएको थियो । प्रदेश २ का ओपनर हरिशंकर साहले ५३ रनको अर्धशतकीय पाली खेले । पुलिसका ललित राजवंशीले ४ र सागर ढकालले २ विकेट लिए ।

अब सेमिफाइनलमा समूह ए को विजेता एपीएफले समूह बी को उपविजेता पुलिस तथा समूह बी को विजेता बागमतीले समूह ए को उपविजेता आर्मीसँग प्रतिस्पर्धा गर्नेछन । सेमिफाइनलका खेल बुधबार र बिहीबार हुनेछन् ।

समूह ए को अन्तिम खेलमा एपीएफले आर्मीलाई ६ रनले हरायो । २ सय ४१ रनको लक्ष्य पछ्याएको आर्मीले ५० ओभरमा ८ विकेट क्षतिमा २ सय ३४ रन मात्र बनाउन सक्यो ।

आर्मीका लागि ओपनर अनिल मण्डलले ४५ रन बनाए । त्यस्तै राजेश पुलामीले ३३ र रोहित पौडेलले ३० रन बनाए । एपिएफका लागि कमल ऐरीले ३ तथा भुवन कार्कीले २ विकेट लिए ।

यसअघि त्रिवि मैदान कीर्तिपुरमा एपीएफ ४९ ओभर ४ बलमा २ सय ४० रन बनाउँदै अलआउट भएको थियो । एपीएफका लागि सुमित महर्जनले सर्वाधिक ४६ रन बनाए । यस्तै सुवास खकुरेलले ३८ र सन्दीप जोराले २८ रन जोडे । आर्मीका हरि चौहानले ५ र साहब आलमले २ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्