खेलकूद

समूह बीको विजेता बन्दै बागमती प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल प्रवेश

हिमालय टिभी
२०७७ माघ ११ गते १७:२७
समूह बीको विजेता बन्दै बागमती प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल प्रवेश

११ माघ २०७७ काठमाडौं । प्रदेश २ लाई हराउँदै सुदूरपश्चिम प्रदेशले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ भने बागमती प्रदेश र लुम्बिनीले बराबरी खेलेका छन्।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज समूह चरणको अन्तिम खेलमा प्रदेश २ लाई ३ विकेटले हराउँदै सुदूरपश्चिमले जितका साथ प्रतियोगिता टुङग्याएको हो । १ सय ९६ रनको विजयी लक्ष्य सुदूरपश्चिमले ३३ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । सुदूरपश्चिमको जितमा सन्जु धिमालले ५७ रनको अर्धशतकीय पाली खेले ।

पहिलो विकेटका लागि ओपनरद्धय गजेन्द्र बोहोरा र कप्तान खड्क बोहोराले ७८ रनको साझेदारी गर्दै सुदूरपश्चिमका लागि उत्कृष्ट शुरुवात दिलाए । खड्कले ४३ र गजेन्दले ३९ रन बनाउँदा अरुण ऐरीले १९ रन जोडे । प्रदेश २ का कुमार थापाले ३ विकेट लिएपनि जित दिलाउन सकेनन् ।

यसअघि, टस हारेर पहिले ब्याटिङ थालेको प्रदेश २ ले ४२ ओभरमा सबै विकेट गुमाएर १ सय ९५ रन बनायो । प्रदेश २ का लागि हरिशंकर साहले ६० रनको अर्धशतकीय पाली खेले ।

त्यस्तै, विवेक यादवले ४१ र महबुब आलमले २३ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले ३–३ विकेट लिए भने अरुण ऐरीको नाममा २ विकेट रह्यो । जितसँगै यसअघिनै प्रतियोगिताबाट बाहिरीसकेको सुदूरपश्चिमले ४ खेलमा २ अंक जोड्यो । लगातार तेस्रो खेल हारेको प्रदेश २ बिना कुनै अंक तालिकाको पुछारमा छ ।

प्रतियोगिता अन्तर्गत आजै भएको समूह बी को आफ्नो अन्तिम खेलमा लुम्बिनी प्रदेश र बागमती प्रदेशले बराबरी खेलेका छन् । जितका लागि २ सय २१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४८ ओभरमा अलआउट हुँदै २ सय २० रननै बनायो ।

जितबाट एक रन पर रहेको अवस्थामा लुम्बिनीका दीपेन्द्र रावतलाई बागमतीका नन्दन यादवको बलमा विकेट किपर आकाश थापाले रन आउट गरेपछि खेल बराबरीमा सकिएको हो ।

लुम्बिनीका कप्तान कृष्ण कार्की र प्रकाश केसीले समान ४१–४१ रन बनाए । बलिङतर्फ बागमतीका विपिन आर्चायले ४ तथा गौतम केसीले २ विकेट लिए । मुलपानी क्रिकेट मैदानमा यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो ।

बागमतीका बाँया हाते ओपनर आदिल खानले सर्वाधिक ५५ रनको योगदान दिए । त्यस्तै, ईशान पाण्डेले ५१ रनको अर्धशतकीय पाली खेले । बागमतीलाई ओपनर आकाश थापा र आदिल खानले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए ।

तेस्रो विकेटका लागि आदिल र पृथुले ६५ रनको साझेदारी गर्दै टोलीलाई सम्हाले पनि त्यसपछिका ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्न सकेनन् । लुम्बिनीका दीपेन्द्र रावतले ३ तथा कृष्ण कार्की र सन्दीप सुनारले २–२ विकेट लिए ।

जितसँगै बागमती समूह बी को विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । लुम्बिनी ४ खेलमा २ मा जित, १ मा हार सहित ५ अंकका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानको पुलिसको भने ३ खेल ४ अंक छ ।

यससँगै, लुम्बिनीले पुलिस र प्रदेश २ बीचको खेलको नतिजाका आधारमा अन्तिम चारको यात्रा तय गर्नेछ ।

समूह ए बाट त्रिभुवन आर्मी क्लब र एपीएफ सेमिफाइनलमा पुगिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्