खेलकूद

महिला लीग फूटबलमा आर्मीको जित, वालिङ नगरपालिका ७–० गोल अन्तरले पराजित

हिमालय टिभी
२०७७ माघ ११ गते १४:४७
महिला लीग फूटबलमा आर्मीको जित, वालिङ नगरपालिका ७–० गोल अन्तरले पराजित

११ माघ २०७७ काठमाडौं । विमला चौधरीको ह्याट्रिकमा विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लबले राष्ट्रिय महिला लीग फूटबलमा पहिलो जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा आर्मीले वालिङ नगरपालिकालाई ७–० गोलको फराकिलो अन्तरले हराएको हो । यसअघि उद्घाटन खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

प्रतियोगितामा आर्मीलाई पहिलो जित दिलाउने क्रममा विमला चौधरीले ह्याट्रिक गर्दा दिपा राई, शर्मिला थापा, भुजुङ्गा राई र हेमा चौधरीले एक एक गोल गरिन् । तीन विदेशी खेलाडीको साथ पाएको वालिङलाई सुरुदेखि नै दबाबमा राखेको आर्मीले १४ औं मिनेटमा विमलाको गोलबाट अग्रता लियो ।

२८ औं मिनेटमा दिपाको गोलबाट आर्मीले अग्रता दोब्बर बनाएको आर्मीले ४४ औं मिनेटमा शर्मिलाको गोलबाट पहिलो हाफमा ३–० को अग्रता लिएको थियो । एकतर्फी खेलको दोस्रो हाफमा आर्मीले थप ४ गोल गर्‍यो । ६६ र ७५ औं मिनेटमा विमलाले दुई गोल गर्दै ह्याट्रिक पूरा गर्दा ८९ औं मिनेटमा हेमाले आर्मीका लागि एक गोल थपिन् ।

दोस्रो हाफमा मैदान प्रवेश गरेकी हेमाले सिक्स यार्ड बक्स नजिकैबाट गोल गरेकी थिइन् । जिततर्फ उन्मुख आर्मीका लागि खेलको इन्जुरी समयमा भुजुङ्गाले गोल गर्दै ७–० को जित पक्का गरिन् । जितसँगै आर्मीले २ खेलबाट ४ अंक जोडेको छ ।

लिगमा आज नै विभागीय टोली एपीएफ र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्