निवर्तमान राष्ट्रपति ट्रम्पमाथिको महाभियोगमाथिको सुनुवाइमा ढिलाइ हुने
१० माघ २०७७ वाशिङ्गटन डिसी । अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्तावमाथि माथिल्लो सदनमा हुने सुनुवाइ केही ढिलो हुने भएको छ ।
महाभियोगबारे माथिल्लो सदन सिनेटमा हुने सुनुवाइ केहीपछि धकेलिएको हो । कम्तीमा आगामी फेब्रुअरी महिनासम्म सुनुवाइ शुरु नगर्ने सहमति सिनेटका डेमोक्र्याट र रिपब्लिकनबीच भएको बताइएको छ ।
अब महाभियोग प्रस्तावमाथि सिनेटमा फेब्रुअरी ९ तारिखसम्म सुनुवाइ शुरु हुने छैन । तल्लो सदनबाट पारित महाभियोग प्रस्ताव सभामुख न्यान्सी पेलोसीले अर्को सोमबार सिनेटमा पठाउने तयारी छ ।
यससँगै ट्रम्पका वकिलले तयारीका लागि थप दुई हप्ताको समय पाएका छन् । संसद भवनमा भएको आक्रमणका लागि उक्साएको आरोपमा ट्रम्पमाथि कार्यकालमै रहँदै दोस्रोपटक महाभियोग लागेको थियो ।
डेमोक्रेटिक पार्टीका नेता तथा नवनिर्वाचित राष्ट्रपति बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्ने विषयमा सांसदबीच छलफल भइरहेका बेला ट्रम्पका समर्थक हतियारसहित राजधानी वासिङ्गटन डिसीस्थित संसद भवनमा हिंसात्मक आक्रमण गरेका थिए ।
उक्त घटनामा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको थियो । तल्लो सदनबाट जनवरी १३ मा महाभियोग प्रस्ताव पारित भएको थियो । जो बाइडेन जनवरी २० तारिखमा ४६ औं राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हालेका थिए ।
त्यस्तै बाइडेन प्रशासनले थप तयारीका लागि सुनुवाई केही पछि धकेलिएको बताएको छ । अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिले दुईपटक महाअभियोगको सामना गर्नु परेको छैन ।
प्रतिक्रिया