खेलकूद

प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश १ र वाग्मती प्रदेश विजयी

हिमालय टिभी
२०७७ माघ ९ गते १६:४९
प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश १ र वाग्मती प्रदेश विजयी

९ माघ २०७७ काठमाडौं । कर्णाली प्रदेशलाई हराउँदै प्रदेश एकले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा प्रदेश एकले कर्णालीलाई ५९ रनले हराउँदै एक जितका साथ प्रतियोगिता टुङ्ग्याएको हो । प्रदेश एकले दिएको २ सय १६ रनको पछ्याएको कर्णालीले ३५ ओभरमा अलआउट हुँदै १ सय ५६ रनमात्र बनायो ।

राम्रो शुरुवात गरेको कर्णालीका लागि विपिन रावलले ४७ र निश्चल रावलले ३१ रन बनाए । पछिल्लो क्रमका ब्याट्सम्यानलाई धरासायी बनाउने क्रममा प्रदेश एकका मिनास थापाले १० ओभरमा २ मेडनसहित २६ रन खर्चिएर ५ विकेट लिए । त्यस्तै, दिपेश कँडेलले ३ तथा मनोज तामाङले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले ५० ओभरमा ९ विकेट गुमाएर २ सय १५ रन बनायो । प्रदेश एकका लागि कप्तान सिद्धान्त लोहनीले ६६ रनको अर्धशतकीय पाली खेले । सुस्त शुरुवात गरेको प्रदेश एकका लागि सिद्धान्त र फिर्दोस अन्सारीले ७३ रनको साझेदारी गरे । फिर्दोसले १७ रन बनाउँदा शुभशंकर उराउले ३६ र मिनास थापाले २५ रन बनाए ।

कर्णालीका रविन्द्र शाहीले ३ विकेट लिँदा दिनेश अधिकारी र अनुज चुनाराले २–२ विकेट लिए । प्रदेश एक यसअघिनै प्रतियोगिताबाट बाहिरी सकेको भने दोस्रो हार व्यहारेको कर्णाली ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

आज नै भएको अर्को खेलमा प्रदेश दुईलाई हराउँदै वाग्मती प्रदेशले लगातार तेस्रो जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा वाग्मतीले प्रदेश दुईलाई ६ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको हो । १ सय ८० रनको मध्यम लक्ष्य वाग्मतीले ४८ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गर्यो ।

वाग्मतीको जितमा पृथु बास्कोटाले नटआउट ५३ रनको अर्धशतकीय पाली खेले । जारी प्रतियोगितामा पृथुको यो लगातार दोस्रो अर्धशतक हो । त्यस्तै, विभत्सु थापाले ४७ र आकाश थापाले ३२ रन बनाए । बलिङतर्फ प्रदेश दुईका हरिशंकर शाहले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश दुईले ४८ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ७९ बनाएको थियो ।

शुरुवाती क्रमका ब्याट्सम्यानहरु क्रिजमा टिक्न नसकेपनि प्रदेश दुईका पछिल्लो क्रमका विवेक यादवले ६६ अर्धशतकीय पाली खेल्दै टोलीलाई सम्हाले । त्यस्तै कुमार थापाले २२ र राहुल प्रताप सिंहले १८ रन बनाए ।

प्रदेश दुईलाई सस्तैमा आउट गर्ने क्रममा बागमतीका गौतम केसीले ४ विकेट तथा रामनरेश गिरीले २ विकेट लिए । जितसँगै बागमतीले ३ खेलबाट ६ अंक जोडेको छ । पुलिस र सुदूरपश्चिमलाई हराएको बागमती तालिकाको शीर्ष स्थानमा छ ।

प्रतियोगितामा भोलि एपीएफ र कर्णाली तथा लम्बिनी र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्