खेलकूद

कस्ता छन् क्रिकेटका नयाँ कोचका चुनौति ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ ९ गते ६:२५
कस्ता छन् क्रिकेटका नयाँ कोचका चुनौति ? (भिडियो रिपोर्टसहित)

९ माघ २०७७ काठमाडौं । खुला प्रतिस्पर्धाबाट प्रशिक्षकको जिम्मेवारी सुम्पिएको नेपाल क्रिकेट संघ क्यानले अस्ट्रेलियाली प्रशिक्षक डेभ वाटमोरलाई स्वागत गरेको छ । कार्यक्रमको आयोजना गरेर क्यानले नवनियुक्त प्रशिक्षक वाटमोरलाई जिम्मेवारी सुम्पिएको हो । झण्डै एक वर्षदेखि प्रशिक्षकविहीन नेपाली टोलीबाट एक दिवसीय मान्यता जोगाई राख्नु वाटमोरका लागि मुख्य चुनौती हुनेछ ।

भारतीय प्रशिक्षक उमेश पटवालको बर्हिगमनपछि रिक्त पदमा अस्ट्रेलियाली प्रशिक्षक डेभ वाटमोर, नेपाली टोली सम्हाल्न यसै साता नेपाल आएका थिए । केही दिन क्वारेन्टाइन बसेपछि नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम गरी प्रशिक्षकलाई औपचारिक रुपमा सार्वजनिक गर्यो । पहिलो पटक सार्वजनिक कार्यक्रममा बोल्दै वाटमोरले २०१८ मा नेपालले पाएको एक दिवसीय मान्यतालाई जोगाउनु आफ्नो प्राथमिकता रहेको बताए ।

राष्ट्रिय टोलीको प्रशिक्षकका रुपमा पहिलो पटक नेपाल आएका डेभ वाटमोर नेपाली क्रिकेटका लागि नौलो नाम होइन । उनले सन् २०१७ मा ब्याट एण्ड बल फाउन्डेसनको सहकार्यमा नेपाली टोलीलाई २ हप्ता प्रशिक्षण दिएका थिए ।

श्रीलंकामा जन्मिएका ६६ वर्षीय वाटमोरकै प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ मा एकदिवसीय क्रिकेटको विश्वकप जितेको थियो । सन् १९९० यता उनले पाकिस्तान, बंगलादेश, श्रीलंका र जिम्बावेलगायत टोलीको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् । उनै प्रशिक्षकलाई क्यानले जनवरी १ तारिखदेखि लागू हुने गरी नियुक्त गरेको छ । एक वर्षे सम्झौतामा नेपाल आएका वाटमोरको युवा र अनुभवी खेलाडीलाई संयोजन गरी टोलीलाई प्रशिक्षण दिने योजना छ ।

नवनियुक्त प्रशिक्षक वाटमोरले बिहीबारनै त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी पुरुष एक दिवसिय प्रतियोगिता हेरे। मुख्य प्रशिक्षकका रुपमा उनको पहिलो अन्तराष्ट्रिय खेल आगामी मार्चमा ओमानमा हुने विश्वकप लिग टु अन्तर्गतको ट्राइ सिरिज हुनेछ ।

जहाँ नेपाल, ओमान र अमेरिकाले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, घरेलु संरचना विना सिमित खेलाडीबाट राष्ट्रिय टोलीमा स्थान बनाएका खेलाडीबाट एकदिवसीय मान्यतालाई निरन्तरता दिनु उनको लागि कठिन चुनौती हुनेछ ।

नेपाली टोलीले पाएको एक दिवसीय मान्यतालाई जोगाई राख्ने, ग्रासरुट लेभल र यु–१९ तथा महिला टोलीको कन्सल्टेन्टका रुपमा सहयोग गर्ने विषयमा छलफल भएको क्यानका सचिव अशोक नाथ प्याकुरेलले जानकारी दिए।

नेपालले सन् २०१८ मार्च १५ मा चार वर्षको लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको थियो। तर गत कोरोनाको कारण क्रिकेट गतिविधि ठप्प भएपछि आइसिसीले एक वर्ष थप गरी नेपालको मान्यतालाई २०२३ सम्म लम्ब्याएको छ।

यही एकदिवसीय मान्यतालाई निरन्तर दिनु पहिलो चुनौती हुनेछ । त्यस्तै, सन् २०१४ मा विश्वकप खेलेपछि फेरी त्यो स्थानमा पुग्ने नेपालको सपना सफल हुन सकेको छैन् । त्यसैले वाटमोर सामु नेपाललाई विश्वकपसम्म पुर्यािउनु अर्को चुनौती हुनेछ । प्रशिक्षकका रुपमा सफल उनले घरेलु संरचनाविहीन नेपाली क्रिकेटलाई कहाँ सम्म पुर्याउलान त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्