खेलकूद

राष्ट्रिय महिला लीग फूटबलमा आर्मी र पुलिस गोलरहित बराबरी

हिमालय टिभी
२०७७ माघ ७ गते १७:२३
राष्ट्रिय महिला लीग फूटबलमा आर्मी र पुलिस गोलरहित बराबरी

७ माघ २०७७ काठमाडौं । आजदेखि राजधानीमा शुरु भएको राष्ट्रिय महिला फूटबल लीगमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसरहरु पाए पनि सदुपयोग गर्न चुकेका थिए । कोरोना महामारीपछि शुरु भएको प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडी रेखा पौडेल, पुजा राना पुलिसबाट प्रतिनिधित्व गरे पनि आर्मीविरुद्ध जित निकाल्न सकेनन् ।

यस्तै पुलिसबाट नै गोलकिपर सपना राईले पनि पुलिस क्लबको प्रतिनिधित्व गरेकी छन् । उनले यु–१९ महिला फूटबलमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेकी थिइन् ।

विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको सहभागिता रहेको प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा सञ्चालन हुँदैछ ।

प्रतियोगिताको उदघाटन र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने बाँकी खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ ।

प्रतियोगितामा पहिलो हुने टोलीले १५ लाख रुपैयाँ, दोस्रोले ८ लाख र तेस्रो हुने टोलीले ५ लाख पुरस्कार पाउनेछन् । त्यस्तै उत्कृष्ट स्ट्राइकर, मिडफिल्ड, डिफेन्स, गोलकिपर र प्रशिक्षकलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै बेस्ट प्लेयर अफ दी लिगले स्कुटर प्राप्त गर्नेछन् ।

अघिल्लो वर्ष चैत ३ गतेबाट शुरु हुने भनिएको प्रतियोगिता कोभिड महामारीका कारण रोकिएको थियो। प्रतियोगितामा भोलि पहिलो खेल एन्फा कम्पेक्समा एपीएफ र चन्द्रपुर नगरपालिका रौतहट तथा दिनको दोस्रो खेल विराटनगर महानगरपालिका र वालिङ नगरपालिका स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्