तिब्बतको ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान
![तिब्बतको ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान](https://www.himalayatv.com/wp-content/uploads/2021/01/H9-Lhasa-Test-Flight-2.jpg)
६ माघ २०७७ काठमाडौं । नेपालको निजी लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले तिब्बतको ल्हासामा परीक्षण उडान गरेको छ ।
आज बिहान सवा ७ बजेट ल्हासाका लागि जहाज उडेको कम्पनीले जनाएको छ । ल्हासा संसारकै उचाईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल मानिन्छ । सफल परीक्षण उडानपछि यस रुटमा नियमित उडानको योजना रहेको कम्पनीले विज्ञप्ति निकालेर जनाएको छ ।
बिहान त्रिभुवन विमानस्थलबाट उडेको जहाज स्थानीय समय अनुसार बिहान पौने ११ बजे ल्हासागोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । यो जहाज आजै फर्कने कम्पनीले जनाएको छ । कम्पनीले भित्र्याएको न्यारोबडी जहाज परीक्षण उडानमा प्रयोग गरिएको छ ।
यस जहाजमा १२० इकोनोमी र ८ विजिनेस क्लास सिट छन् । यो जहाज अधिकतम १४ हजार ५०० फिटसम्मको एअरोड्रम उचाई भएको ट्रान्स हिमालयन मार्गमा सञ्चालन गर्न सक्ने क्षमताको छ ।
ल्हासागोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने आफुहरु पहिलो र एक मात्र अन्तराष्ट्रिय वायुसेवा कम्पनी बनेको कम्पनीका प्रशासकीय उपाध्यक्ष विजय श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया