खेलकूद

प्रधानमन्त्री कप क्रिकेटः गण्डकीसँग प्रदेश १ र बागमतीसँग सुदूरपश्चिम प्रदेश पराजित

हिमालय टिभी
२०७७ माघ ५ गते १७:३५
प्रधानमन्त्री कप क्रिकेटः गण्डकीसँग प्रदेश १ र बागमतीसँग सुदूरपश्चिम प्रदेश पराजित

५ माघ २०७७ काठमाडौं । चौथो प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज गण्डकी र बागमति प्रदेश विजयी भएका छन् । गण्डकीले प्रदेश एक र बागमतिले सुदूरपश्चिमलाई हराएका हुन् ।

मुलपानी क्रिकेट मैदानमा गण्डकीले प्रदेश एकलाई २ विकेटले पराजित गर्‍यो । १ सय ३ रनको सामान्य लक्ष्य गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाएर पुरा गरेको थियो । गण्डकीका लागि ओपनर अर्जुन कुमाल र दीपक डुम्रेले समान ३५–३५ रन बनाए ।

प्रदेश एकका शुभांकर उराउ र मिनाश थापाले २–२ विकेट लिए पनि टिमलाई जीत दिलाउन सकेनन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश एक २७ ओभर ४ बलमा १ सय २ रन बनाएर अल आउट भएको थियो । उसका लागि सिद्धान्त लोहनी २४, मिनास थापाले २२ रन बनाए ।

गण्डकीका युवा स्पिनर विशाल पौडेल र सुवास भण्डारीले ४–४ तथा विपिन खत्रीले २ विकेट लिएपछि प्रदेश १ सस्तैमा अलआउट भएको हो । पहिलो खेलमा पराजित भएको गण्डकीले दोस्रो खेलबाट २ अंक जोडेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा बागमतीले सुदूरपश्चिमलाई एक सय ८० रनको फराकिलो अन्तरले हराएको छ । ३ सय रनको विशाल लक्ष्य पछ्याएको सुदूरपश्चिमलाई २१ ओभरमै १ सय १९ रनमा अलआउट गरेर बागमतिले लगातार दोस्रो जीत निकालेको हो ।

सुदूरपश्चिमलाई सस्तैमा अलआउट गर्न रामनरेश गिरीले ४ विकेट लिए । सुदुरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक ४४ तथा अर्जुन साउदले ३१ रन बनाए । उसका ६ जना खेलाडीले खाता नै खोल्न सकेनन् ।

त्यसअघि पहिले व्याटिङ गरेको बागमतिले ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ९९ रन बनाएको थियो । बागमतीका लागि पृथु बास्कोटाको ८४ र आदिल खानले ६३ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले ३२–३२ रनको योगदान दिए । सुदूरपश्चिमका लागि नारायण जोशीले तीन तथा भोजराज भट्ट र सन्तोष भट्टले दुईदुई विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्