आर्थिक

धनकुटाका पहाडी डाँडाकाँडामा हाइकिङ गर्नेको संख्या बढ्दै (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ४ गते १८:२१
धनकुटाका पहाडी डाँडाकाँडामा हाइकिङ गर्नेको संख्या बढ्दै (भिडियोसहित)

४ माघ २०७७ धनकुटा । व्यस्त जीवनशैलीबाट केही समय निकालेर फ्रेस हुन शहरी क्षेत्र नजिकका डाँडाकाँडामा छोटो दूरीको पदयात्रा अर्थात हाइकिङ्ग गर्ने गरिन्छ । पछिल्लो समय धनकुटाका पहाडी क्षेत्रका डाँडाकाँडामा समेत हाइकिङ्ग गर्ने क्रम बढ्दो छ ।

धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नम्बर ६ सिधुवा बजारका बासिन्दाले पछिल्लो समय हाइकिङ्ग गर्दै पटके डाँडासम्म पुग्ने गरेका छन् । करिब ५ किलो मिटरको उकालो मनोरञ्जन लिँदै दुई घण्टा लगाएर पार गर्ने गरेका छन् । २६ सय ५० मिटरको उचाइमा रहेको पटके डाँडा धनकुटाको सबैभन्दा बढी उचाई भएको स्थान हो । यो डाँडाबाट मकालु हिमश्रृंखला र कुम्भकर्ण हिमश्रृंखलासहित धनकुटाका विभिन्न स्थान स्पष्ट रुपमा देख्न सकिन्छ । यसले सिधुवा हलहले पटके डाँडा ट्रेलमा हाइकिङ्ग गर्नेको आकर्षण बढेको हो ।

काठमाडौं पोखरालगायत पहाडको फेदीमा रहेका ठूला शहरबाट पहाडका टाकुरातर्फ गरिने हाइकिङ्ग पछिल्लो समय पहाडी क्षेत्रमा समेत बढ्दो छ । धनकुटाको सिधुवामा मात्र हैन हिले त्रिसुले गुराँसे हुँदै जोरपाटीसहित सिधुवासम्म हाइकिङ गर्ने गरिएको छ ।

धरानबाट साँगुरीगढी हुँदै भेडेटारसम्मको करिब दश किलोमिटरको हाइकिङ्ग त प्रायः नियमित हुने गरेको छ । भेडेटारबाट ओख्रे हुँदै डाँडाबजारसम्मको डाँडैडाँडाको ट्रेललाई अर्को महत्वपूर्ण ट्रेलको रुपमा लिइने गरिन्छ । धनकुटामा मात्र नभइ पूर्वको विभिन्न स्थान पदयात्राका लागि उत्कृष्ट मानिन्छ ।

फुर्सद मिलाएर पूर्वी तराईका जिल्लाबाट हाइकिङ्ग गर्नका लागि मध्यपहाडसम्म पुग्ने क्रम शुरु भएको छ । स्वास्थ्यलाई फाइदा हुनुको साथै मनोरम दृष्य अवलोकन गर्न पाइने भएकाले हाइकिङ्ग गर्नेको संख्या बढ्दै गएको छ ।

हाइकिङ गर्दा नयाँ ठाउँ, वनस्पति र जीवजन्तु अवलोकनसँगै जीवनशैलीबारे नजिकबाट बुझ्न सकिने भएकाले पनि यो प्रतिको आकर्षण बढ्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *