खेलकूद

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसविरुद्ध बाग्मती विजयी, आर्मीको दोस्रो जित

हिमालय टिभी
२०७७ माघ ४ गते १५:५४
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसविरुद्ध बाग्मती विजयी, आर्मीको दोस्रो जित

४ माघ २०७७ काठमाडौं । साविक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै चौथो प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशले विजयी शुरुवात गरेको छ । यस्तै त्रिभुवन आर्मीले क्लबले भने लगातार दोश्रो जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बाग्मतीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ७ विकेटले हराएको छ । पुलिसले दिएको ११२ रनको सामान्य लक्ष्य बाग्मतीले ३४ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

बागमतीका लागि पृथु बास्कोटाले नटआउट ४८ रनको उत्कृष्ट पाली खेले । दोस्रो ओभरमै ओपनर आकाश थापालाई व्यक्तिगत एक रनमा गुमाएको बाग्मतीका लागि ३५ रनमा ३ विकेट गुमाएको अवस्थाबाट ईशान पाण्डे र पृथुले जितसम्म पुर्‍याएका थिए ।

ईशानले नटआउट १७ रन बनाउँदा पारस खड्काले पनि समान रन जोडेका थिए । बलिङतर्फ पुलिसका दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले एकएक विकेट लिए ।

यसअघि, टस गुमाएर पहिले ब्याटिङ गरेको पुलिसले लज्जास्पद ब्याटिङ गर्दै २९ ओभर ३ बलमा सबै विकेट गुमाएर १११ रन मात्र बनायो । राम्रो शुरुवात गरेको पुलिसका लागि ओपनरद्धय सुनिल धमला र कुशल भुर्तेलले समान १७९१७ रन जोड्दा मध्यक्रमका दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान २१९२१ रन बनाए ।

अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । पुलिसलाई सस्तैमा अलआउट गर्ने क्रममा बागमतीका स्पिनर तिलकराज भण्डारी र तीव्र गतिका बलर नन्दन यादवले समान ४–४ विकेट लिए । त्यस्तै, रामनरेश गिरीले २ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । प्रतियोगतामा लगातार दोश्रो जित हात पार्ने क्रममा आर्मीले कर्णाली प्रदेशलाई ८० रनले हरायो ।

जितका लागि १ सय ९६ रनको लक्ष्य पाएको कर्णालीले ३३ दशमलव ३ ओभरमा सबै १० विकेट गुमाएर १ सय १५ रन मात्र बनायो । कर्णालीका कप्तान रविन्द्र शाहीले ३० हेमन्त वलीले १६ र दिनेश अधिकारीले १२ रन बनाए । अरु कुनै पनि ब्याट्सम्यानले दोहोर अंकको रन बनाउन नसकेपछि कर्णालीले ८० रनको फराकिलो अन्तरले परजित भयो ।

पहिला ब्याटिङ्ग गरेको आर्मी ४३ दशमलव १ ओभरमा १ सय ९५ रनमा अलआउट भएको थियो । आर्मीका अनिल मण्डलले ८९ रन कप्तान विनोद भण्डारीले ४१ रन बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्