राजनीति

चार जना न्यायाधीशलाई भेटेका विषयमा प्रधानमन्त्रीको आयो यस्तो जवाफ

हिमालय टिभी
२०७७ माघ ३ गते २०:३८
चार जना न्यायाधीशलाई भेटेका विषयमा प्रधानमन्त्रीको आयो यस्तो जवाफ

३ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका ४ जना न्यायाधीशलाई नभेटेको प्रष्टिकरण दिनुभएको छ । काठमाडौंमा आज आयोजित प्रदेश १ स्तरीय अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले आफूले कुनै पनि न्यायाधीशलाई नभेटेको दाबी गर्नुभयो ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला चार जना न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको भन्दै शुक्रबार संवैधानिक इजलासमा प्रश्न उठेको थियो । तर प्रधानमन्त्री ओलीले भने आफूले कुनै पनि न्यायाधीशलाई नभेटेको भन्दै भेटेको प्रमाणित गर्न चुनौति नै दिनुभयो ।

यति मात्र होइन, प्रधानमन्त्री ओलीले न्यायाधीश मल्लबाहेक अरु कसैलाई नचिनेको समेत बताउनुभयो । प्रधानमन्त्रीका अनुसार मल्ललाई उहाँले न्यायाधीश हुनु अघि एक सार्वजनिक कार्यक्रममा देखेको बाहेक बाहिर नाम आएका अन्य कसैलाई चिन्नुभएको छैन ।

न्यायाधीश मल्ल पहिलो संविधानसभामा तत्कालीन एमालेबाट समानुपातिक सभासद बन्नुभएको थियो । यस्तै हरिकृष्ण कार्की ओली पहिलो पटक प्रधानमन्त्री हुँदा महान्याधिवक्ता हुनुहुन्थ्यो ।

यति मात्र होइन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको सिफारिसको विषयलाई लिएर संवैधानिक इजलासमा उठेका अन्य विषयमा पनि जवाफ दिनुभयो ।

मन्त्रिपरिषद्ले संविधानका कुनै धारामा नटेकी राष्ट्रपतिसमक्ष सिफारिस गरिएको भन्दै इजलासमा प्रश्न उठेको थियो । तर प्रधानमन्त्री ओलीले संविधानको कुनै धारामा टेकेरै विघटनको सिफारिस गर्नुपर्छ भन्ने नलेखेको जवाफ दिनुभयो ।

यसरी प्रधानमन्त्री ओलीले आफूमाथि उठेका प्रश्नको खण्डन गर्ने क्रममा थप प्रश्न उठाउने अभिव्यक्ति दिनुभएको छ । सम्बोधनका क्रममा उहाँले पार्टीका पूर्व सहकर्मीलाई आफ्नै शैलीमा आक्रमण गर्नुभयो । सुर्य चिन्ह आफैले पाउने दाबी गर्नुभयो भने तोकिएकै समयमा चुनाव हुने पनि दोहोर्‍याउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्