आर्थिक

सुन्तलाबाट आम्दानी बढेसँगै स्याङ्जामा सुन्तला खेती गर्ने बढे (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ३ गते १८:५५
सुन्तलाबाट आम्दानी बढेसँगै स्याङ्जामा सुन्तला खेती गर्ने बढे (भिडियोसहित)

३ माघ २०७७ स्याङ्जा । स्याङ्जामा व्यावसायिक सुन्तला खेती गर्ने क्रम बढेको छ । गल्याङ नगरपालिका वडा नम्बर ७, सिरौंसाका किसानले व्यवसायिक खेती गरेर सुन्तलाबाट राम्रो आम्दानी लिइरहेका छन् ।

स्याङ्जा गल्याङ नगरपालिका वडा नम्बर ७, सिरौंसाको बगैँचामा लटरम्म सुन्तला फलेको छ । उदाउँदो सूर्यदेखि अस्ताउँदो सूर्यसम्म घाम लाग्ने र हिमालको दृश्य देखिने यो ठाउँका किसान यतिबेला सुन्तला टिपेर विक्री गर्न व्यस्त छन् । करिब १७ हजार सुन्तलाका बोट भएको यो ठाउँमा गत वर्षभन्दा उत्पादन भने घटेको छ । एक वर्ष अत्यधिक फल्ने र अर्को वर्ष कम फल्ने प्राकृतिक नियम, वर्षातको समयमा बढी पानी परेको र केही रोगका कारण यो वर्ष कम फलेको हो ।

कोदो मकैसहितका खाद्यान्न बाली लगाइएका बारीमा अहिले सुन्तलाका बोट हुर्किरहेका छन् । केही समयमै उत्पादन दोब्बर बनाउने कृषकको लक्ष्य छ । उत्पादन बढेपछि पनि बजारको कुनै समस्या छैन ।

एउटै गाउँबाट वार्षिक डेढ करोडका सुन्तला विक्री गर्ने स्याङ्जाको सिरौंसाका सुन्तलाको मूल्य भने केही बढी पर्ने गरेको छ । सुन्तलाको आकार, रङ र स्वादका आधारमा स्याङ्जाको सुन्तला र त्यसमा पनि सिरौंसाको सुन्तलाको मूल्य केही बढी पर्ने किसानको दावी छ ।

बजारमा विक्री गर्ने प्रणाली भने अझै व्यवस्थित हुन सकेको छैन । आफै बोट हुर्काएर, फलेका सुन्तला आफै टिपेर, आफै ग्रेडिङ गरी बजारसम्म पुर्‍याउनुपर्ने बाध्यता छ । सुन्तला उत्पादनमा सहयोग गर्न गल्याङ नगरपालिकाले ३० हजार विरुवा उत्पादन क्षमताको हाइटेक नर्सरी बनाइदिएको छ ।

यसमा उत्पादन गरिएका विरुवा सोही ठाउँका साथै अन्य ठाउँमा पनि विक्री गरिएको छ । किसानलाई प्रोत्साहन गर्नका लागि नगरपालिकाले पनि विशेष योजना बनाएको छ ।

सिरौंसामा सुन्तला उत्पादन कमी भए पनि समग्र स्याङ्जामा भने यो वर्ष सुन्तला उत्पादन २० प्रतिशतले बढेको छ । गत वर्ष १५ हजार टन सुन्तला विक्रीबाट ३५ करोड रुपैयाँ आम्दानी भएकोका यो वर्ष ४० करोडको विक्री हुने अनुमान छ । सुन्तला उत्पादनमा लागेका किसानलाई प्रोत्साहित गर्नका लागि सुन्तला सुपर जोनसहितका विभिन्न अभियान भैरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *