कार्यक्रम हल अफ फेमको सिजन २ आजदेखि शुरु हुने

२ माघ २०७७ काठमाडौं । गायन प्रतिभा प्रोत्साहन कार्यक्रम हल अफ फेमको सिजन २ आजदेखि शुरु हुने भएको छ।
एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हुन लागेको यो सिंगिंग रियालिटी शोको प्रशारण हिमालय टेलिभिजन एचडीबाट राति ८ बजे हुनेछ।
विश्वभरका सैयौं प्रतिस्पर्धीबाट छनोट भएका टप ५० गायन प्रतिभाहरुबीचको यो प्रतिस्पर्धा निकै रोचक हुने अपेक्षा छ। कोरोना महामारीले विश्व नै ठप्प भएका बेला घोषणा गरिएको अन्तर्राष्ट्रिय अनलाइन प्रतिस्पर्धामा निर्णायकको रुपमा वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका चर्चित गायक विवेक श्रेष्ठ र रजिना रिमाल रहेका छन्।
कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र मिस नेपाल ओसेनिया २०२० जेमिना श्रेष्ठले संयुक्त रुपमा गर्नेछन्। जेमिना श्रेष्ठ अष्ट्रेलियामा रहेर नै कार्यक्रमको सञ्चालन गर्नेछिन् भने निर्णायक मण्डलका एक सदस्य गायक विवेक श्रेष्ठ पनि अष्ट्रेलियामै छन्।
एमएनटीभी अष्ट्रेलियाका ब्रान्ड एवं मार्केटिंग म्यानेजर रमन झाले गायन प्रतिस्पर्धामा निर्णायकको मत नै अन्तिम हुने बताउनुभयो । हल अफ फेम सिजन २ मा सहभागी हुन कुनै उमेरको बन्देज लगाइएको छैन भने विश्वका विभिन्न १२ देशबाट प्रतिस्पर्धीहरुले सहभागिता जनाएका छन्।
गत नोभेम्बर १५ सम्ममा आएका आवेदनमध्येबाट निर्णायक मण्डलले टप ५० को छनोट गरेका हुन्। हल अफ फेमको टाइटल विजेताले ५ लाख रुपैयाँ बराबरको पुरस्कार पाउनेछन् । जसमा १ लाख नगद र गीत रेकर्डिंग, म्युजिक भिडियो निर्माण, अन्तर्राष्ट्रिय प्रवर्द्धनलगायत समावेश रहेको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलको भनाइ छ ।
प्रतिक्रिया