आर्थिक

यस्तो छ बाँकेमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको तयारी (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ २ गते ६:४०
यस्तो छ बाँकेमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको तयारी (भिडियोसहित)

२ माघ २०७७ बाँके । सुकुम्बासीको अवरोधले गत साउनदेखि रोकिएको बाँकेको नौबस्तास्थित लुम्बिनी प्रदेशस्तरीय औद्योगिक क्षेत्रको निर्माण अब शुरु हुने भएको छ । औद्योगिक क्षेत्रको करिब ३० विघा जग्गा अतिक्रमण गरेर २ सय ६० घर सुकुम्बासी बस्दै आएका छन् । अतिक्रमण नभएको क्षेत्रबाट निर्मण शुरु गर्न लागिएको हो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र सुकुम्बासीबीच पटकपटक छलफल भए पनि सहमति नजुटेपछि नौबस्तामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सुरक्षा पोष्ट खडा गरेर निर्माण शुरु गर्न लागिएको हो ।

पहिलो चरणमा अतिक्रमण नभएको खाली क्षेत्रमा निर्माण शुरु गर्ने र सुकुम्बासीको समस्या समाधानका लागि प्रयास गर्ने, सहमतिमा नआइ निर्माणको काममा अवरोध गरे सुरक्षा बल प्रयोग गरेर भए पनि काम अघि बढाउने तयारी गरिएको छ ।

औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणका लागि सरकारले करिब ६० करोड बजेट विनियोजन गरेको छ । यसै आर्थिक वर्षबाट सडक, ढल र विद्युत, खानेपानी लगायतका भौतिक संरचना बनाउन थाल्ने योजना छ । काममा अवरोध नहोस भनेर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अनुरोधमा नौबस्तामा सुरक्षा टोली खटाउने प्रशासनको तयारी छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बैजनाथ गाउँपालिका वडा नम्बर ३ नौबस्ताको ३ सय ३८ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माणका लागि बिस्तृत परियोजना प्रतिबेदन र बाताबरणीय प्रभाब मुल्यांकन प्रतिबेदन तयार पारेर बन मन्त्रालयबाट स्बीकृत गराई सकेको छ ।

औद्योगिक क्षेत्रमा प्लाष्टिक, खाद्यान्न पेन्ट, साबुन, स्टिल, रबर, बिद्युत तार, टेक्सटाइल, छाला, डिष्ट्रिलरी र प्लाइउड उद्योग स्थापनाका लागि २ सय ५० जना उद्योगी ब्यबसायीले प्रस्ताब पेश गरेका छन । निर्माण अघि बढ्ने भएपछि उद्योगी ब्यबसायी उत्साहित छन् ।

औद्योगिक क्षेत्रमा चार लेनको सडक, ढल तथा नालीको ब्यबस्था, फोहर पानी प्रशोधनका लागि छुट्टै प्लान्ट, २४ घन्टा पानीको व्यवस्था, ४० मेगावाटको छुट्टै विद्युत फिडर, सुरक्षाका लागि सशस्त्र प्रहरी बलको पोष्ट, एकीकृत भन्सार चेक पोष्ट लगायतका पूर्वाधार बनाइनेछ ।

आगामी ५ वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको औद्योगिक क्षेत्रमा करिव ६ अर्ब रकम लाग्ने अनुमान छ । औद्योगिक क्षेत्र बनेपछि करिब १० हजार जनाले प्रत्यक्ष रोजगारी पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *