आर्थिक

गुल्मीको छत्रकोट गाउँपालिकाले किसानलाई प्रोत्साहन भत्ता दिने (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २९ गते १४:४९
गुल्मीको छत्रकोट गाउँपालिकाले किसानलाई प्रोत्साहन भत्ता दिने (भिडियोसहित)

२९ पुस २०७७ गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले किसानलाई प्रोत्साहन भत्ता दिने तयारी गरेको छ । गाउँपालिकाले खाद्य सुरक्षा सुनिश्चित गर्नुका साथै समृद्ध किसान बनाउने भन्दै प्रोत्साहन भत्ताको कार्यक्रम ल्याएको हो । किसानलाई तीन समूहमा विभाजन गरेर भत्ता दिइने गाउँपालिकाले जनाएको छ ।

गुल्मीको छत्रकोट गाउँपालिकाले किसानलाई प्रोत्साहन भत्ता दिने तयारी गरेको छ । यो अभियानबाट गाउँपालिका उत्पादनमा आत्मनिर्भर भई निर्यात पनि हुने पदाधिकारीको अपेक्षा छ । यसका लागि नवौं गाउँसभाबाट कृषक प्रोत्साहन कार्यक्रम संचालन कार्यविधि पारित गरिएको छ ।

कार्यविधिमा गाउँपालिका अध्यक्ष संयोजक रहेको ५ सदस्यीय छनोट समिति र उपाध्यक्षको संयोजकत्वमा ४ सदस्यीय अनुगमन समितिको व्यवस्था छ । तथ्यांक संकलनसँगै वास्तविक किसान पहिचान गरेर वर्ग अनुसार प्रोत्साहन भत्ता तोक्ने गाउँपालिकाको योजना छ । गाउँपालिकाले भत्ता पाउने किसानलाई तीन श्रेणीमा विभाजन गरेको छ ।

‘क’ वर्गका किसानलाई हरियो, ‘ख’ वर्गका किसानलाई निलो र ‘ग’ वर्गका किसानलाई पहेँलो परिचयपत्रको व्यवस्था मिलाइनेछ । कार्यविधि अनुसार पशुपक्षीको हकमा गाईभैंसी, बाख्रा, बंगुर, कुखुरा, मौरी, स्थानीय हाँस र कृषितर्फ कागती, सुन्तला, आँप, लिची, तरकारी, च्याउ, कफि, उखु र भुइकटर उत्पादनलाई गाउँपालिकाले प्राथमिकता दिएको छ । किसान कार्यक्रम कार्यान्वयनको पर्खाइमा छन् ।

किसानलाई भत्ता दिने कार्यक्रमको जिल्लामा आलोचना र स्वागत दुवै भएको छ । किसानलाई हचुवाका भरमा रकम बाँडन लागिएको भन्दै विपक्षीले आलोचना गरेका छन् । तर गाउँपालिकाले भने यसबाट किसानको सम्मान हुनुका साथै कृषि पेशामा लाग्नेको उत्साह बढ्ने बताएको छ । सँगसँगै उत्पादन बढने पनि उसको अपेक्षा छ । तर कार्यक्रम कहिले कार्यान्वयन हुन्छ भन्ने अन्योल बाँकी नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *