खेलकूद

पल्सर स्पोर्टस् अवार्ड: गौरीका र मण्डेकाजी वर्षको उत्कृष्ट खेलाडी

हिमालय टिभी
२०७७ पुष २९ गते ७:०५
पल्सर स्पोर्टस् अवार्ड: गौरीका र मण्डेकाजी वर्षको उत्कृष्ट खेलाडी

२९ पुस २०७७ काठमाडौं । पौडीकी गौरीका सिंह र करातेका मण्डेकाजी श्रेष्ठले नेपाल खेलकूद पत्रकार मञ्चले आयोजनाको गरेको ‘एनएसजेफ पल्सर स्पोर्टस् अवार्ड’मा वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडीको अवार्ड जित्नुभएको छ ।

विसं २०७६ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा दुवै जना उत्कृष्ट खेलाडीका रूपमा घोषित हुनुभएको हो ।

गौरीकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ तथा ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै उत्कृष्ट खेलाडीको अवार्ड जित्नुभएको हो । गौरीकाले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक गरी नौ पदक जित्नुभएको थियो । उहाँले सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानसँग बराबरी गर्नुभएको थियो । गौरीकाले आठौँ राष्ट्रिय खेलकूदमा १२ स्वर्ण पदक जित्नुभएको थियो । गौरीकाले कम उमेरमा ओलम्पिक खेल्ने कीर्तिमानसमेत बनाउनुभएको थियो । उहाँले जापानको टोकियो ओलम्पिक खेल्ने पक्का भइसकेको छ ।

मण्डेकाजीले गल्फका सुवास तामाङ, तेक्वान्दोका कमल श्रेष्ठ, एनलेटिक्सका गोपीचन्द्र पार्की तथा फुटबलका विकेश कुथुलाई उछिन्दै उक्त अवार्ड जित्नुभएको हो । यी सबै खेलाडीले गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्ण पदक जित्नुभएको थियो । उक्त प्रतियोगितामा मण्डेकाजीले करातेतर्फ टिम काता र एकल गरी दुई स्वर्ण पदक जित्नुभएको थियो । उहाँले आठौँ राष्ट्रिय खेलकूदमा एकल कातामा स्वर्ण तथा टिम कातामा रजत जित्नुभएको थियो ।

महिला भलिबल टोली वर्षको उत्कृष्ट घोषित
नेपाली राष्ट्रिय महिला भलिबल टोली वर्ष २०७६ को उत्कृष्ट टोली घोषित भएको छ । नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा महिला भलिबल टोलीले टिम अफ दि इयरको अवार्ड जित्न सफल भएको हो ।

गत वर्ष महिला भलिबलमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको थियो । बङ्गलादेशमा आयोजना भएको प्रथम एभिसी महिला सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली महिला टोलीले उपाधि जितेको थियो । उक्त टोलीको प्रशिक्षक जगदीशप्रसाद भट्ट रहनुभएको थियो । सो प्रतियोगितामा नेपालले खेलेका सबै छ खेलमा विजयी भएको थियो । यस्तै गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा ऐतिहासिक रजत पदक प्राप्त गरेको थियो । महिला भलिबल टोली फाइनलमा भारतसँग पराजित भएको थियो । नेपाली महिला टोलीले सागमा पहिलोपटक रजत पदक प्राप्त गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल भारसँग ३–२ सेटले हार व्योहोर्न पुगेको थियो ।

पिपल्स च्वाइसको अवार्ड भलिबलकी अरुणालाई
भोटिङका आधारमा भएको पिपल्स च्वाइस अवार्डको उपाधि भलिबलकी कप्तान अरुणा शाहीले जित्नुभयो । उहाँले सर्वाधिक मत प्राप्त गर्दै उक्त अवार्ड जित्नुभएको हो । अरुणाले कूल ३७ दशमलव ५२ प्रतिशत प्राप्त गर्नुभयो । उक्त विधातर्फ दोस्रो स्थानमा सागमा करातेमा दोहरो स्वर्ण पदक जित्नुभएका मण्डेकाजी श्रेष्ठ रहनुभयो । उहाँले २८ दशमलव ४५ प्रतिशत मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा बास्केटबलकी कप्तान सदिना श्रेष्ठ रहनुभयो । उहाँले १३ दशमलव १३ प्रतिशत मत प्राप्त गर्नुभयो । चौथो स्थानमा रहनुभएकी पौडीकी गौरीका सिंहले १३ दशमलव तीन प्रतिशत तथा पाँचौँ स्थानमा रहनुभएकी महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले सात दशमलव दुई प्रतिशत मत प्राप्त गर्नुभयो । अरुणालाई उक्त अवार्ड जिताउनका लागि पोखरामा अभियान नै शुरु गरिएको थियो ।

पोखरामा पुरुष भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको थियो । सागमा नेपालले रजत पदक जित्दा शाहीले उत्कृष्ट कप्तानीको भूमिका निर्वाह गर्नुभएको थियो । यस्तै बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि जित्दा पनि उहाँले नै कप्तानी गर्नुभएको थियो ।

यसैगरी उत्कृष्ट युवा खेलाडीको अवार्ड गल्फका सुवास तामाङले जित्नुभयो । उहाँले सागमा दुई स्वर्ण पदक जित्नुभएको थियो । सुवासले तेक्वान्दोका भूपेन श्रेष्ठ र सिना मादेन लिम्बू, भारत्तोलनकी सञ्जु चौधरी तथा जुडोकी पुनम श्रेष्ठलाई पछि पार्नुभएको हो ।

यसैगरी एउटै खेलबाट सर्वाधिक १२ स्वर्ण पदक दिलाउने तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । उहाँले करातेका प्रमुख प्रशिक्षक मदनकुमार उप्रेती, उसुका अमरकुमार थिङ, बक्सिङका प्रकाश थापामगर र पौडीका शङ्कर कार्कीलाई उछिन्दै उक्त अवार्ड जित्नुभएको हो ।

टेवलटेनिसका ऐतिहासिक पदक विजेताद्वय गीता क्षेत्री र सिजरिन शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरियो । दुवै जना सन् १९९१ मा आयोजित पाँचौँ दक्षिण एशियाली खेलकूदका स्वर्ण विजेता हुन् । नेपाली महिला खेलाडीले सागमा जितेको त्यो नै पहिलो स्वर्ण पदक थियो ।

यस वर्षको स्पेसल अवार्ड एथलेटिक्सकी सन्तोषी श्रेष्ठ तथा तेक्वान्दोकी आयशा शाक्यले संयुक्तरूपमा प्राप्त गर्नुभयो । दुवै जना १३औँ सागका स्वर्ण विजेता हुन् । उनीहरु आ–आफ्नो खेलका लागि विशेष पदक जित्ने कीर्तिमानी खेलाडी पनि हुन् । सन्तोषीले सागमा महिला १० हजार मिटर दौडमा नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाउनुभएको थियो । यस्तै आयशाले १३औँ सागमा दुई स्वर्ण पदक जित्नुभएको थियो । उहाँले तेक्वान्दोको पुम्सेतर्फ एकल तथा टिम स्पर्धामा स्वर्ण जित्नुभएको हो ।

पारा एथ्लिट अवार्डबाट यस वर्ष ह्वीलचियर बास्केटबल तथा क्रिकेट खेलाडी दिगमसिंह चेम्जोङलाई सम्मान गरिएको छ । हरेक वर्षको विश्व खेलकूद पत्रकार दिवस, जुलाइ २ मा आयोजना गरिँदै आएको अवार्ड कोरोना महामारीका कारण यस वर्ष छ महिनापछि धकेलिएको हो । हंशराज हुलासचन्द एण्ड कम्पनीको मुख्य प्रायोजन रहेको अवार्डका वर्ष खेलाडी पुरुष, महिला, युवा खेलाडी तथा वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गर्नुभएको छ । अन्य विधाका विजेताले भने जनही रु ५० हजार पुरस्कार प्राप्त गर्नुभएको छ ।

दश विधामा अवार्ड प्रदान गरिएको हो । वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेसल, लाइफटाइम अचिभमेन्ट, पिपुल्स च्वाइस, प्यारा एथलिट सम्मान, टिम अफ द इयर तथा अन्तर्राष्ट्रिय खेलकुद पत्रकारिता अवार्ड समावेश गरिएको थियो । ललितपुरको सातदोबोटोस्थित कराते हलमा कोरोना भाइरसको महामारीका कारण उक्त कार्यक्रम सेमी भर्चुअलका रूपमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्