सेवाग्राहीले बैंक खाता नखोल्दा भत्ता वितरणमा समस्या
२७ पुस २०७७ सिमकोट । हुम्लाका सातवटै स्थानीय तहले चालु आर्थिक वर्ष २०७७÷०७८ को सामाजिक सुरक्षा भत्ता हालसम्म वितरण गर्न सकेका छैनन् ।
हरेक आवको मङ्सिरमा पहिलो चौमासिक रकम भुक्तानी गर्नुपर्ने प्रावधानरहि आएको छ । दोस्रो चौमासिक रकम भुक्तानी गर्ने समयमा पनि भत्ता वितरण नभएपछि यहाँका नागरिकले गुनासो गर्न थालेका छन् ।
चालु आवमा कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले नै सामाजिक सुरक्षा भत्ताको रकम निकासा नदिँदा वितरण हुन नसकेको बताइएको छ । ताँजाकोट गाउँपालिका– २ का वडाध्यक्ष अजमल बुढाले भत्ता वितरणमा किन ढिलाई भन्ने आफूलाई जानकारी नभएको बताउनुभयो ।
सोही गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले आफ्नो गाउँपालिमा ५४ लाख मात्र आएको र कोलेनिकाले नै निकासा नदिँदा वितरण गर्न नसकिएको बताउनुभयो ।
कोलेनिका हुम्लाका पूर्व प्रमुख नरेशराज भट्टले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्लाभरी रकम कम पठाएको, चालुआवमा बैंक खातामार्फत सेवाग्राहीलाई रकम वितरण गर्ने परिपत्र भएको र अहिलेसम्म खाताको विवरण नआएकाले रोकिएको जानकारी दिनुभयो ।
यस्तै सिमकोट गाउँपालिकाले वडा नम्बर ५ र ६ मा रहेका सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ । पहिलो र दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता आगामी फागुनमा एकैपटक वितरण गरिने वडा नम्बर २ का वडाध्यक्ष नरबहादुर भण्डारीले बताउनुभयो ।
अधिकांश सेवाग्राहीले बैंकमा खाता सञ्चालन गरेका छैनन् । पहिला घरघरमा पुगेर हातहातमै पाएका नागरिकले यस पटक बैंकमामार्फत वितरण गरिने भएपछि झन्झटिलो भएको उनीहरुको गुनासो छ ।
चालु आवमा बालबालिका, एकल महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले आ–आफ्नो भत्ता लिनका लागि अनिवार्य बैंक खाता खोल्नुपर्ने प्रावधान राखिएको छ । हरेक गाउँपालिकाले पटकपटक खाता सञ्चालन गर्ने सूचना प्रकाशन गरे तापनि सेवाग्राहीले भने यसप्रति ध्यान दिएका छैनन् ।
प्रतिक्रिया